आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्जमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार दिउँसो पूर्व–पश्चिम राजमार्गअन्तर्गत रानीगञ्जमा बस र म्याजिक भ्यान एकआपसमा ठोक्किँदा २२ वर्षीया सोना पन्तको ज्यान गएको हो। लालबन्दीतर्फ जाँदै गरेको ना६ख ७२२७ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना१ज २६४५ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।
गम्भीर घाइते भएकी पन्तको मोडेल अस्पताल लालबन्दीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी सरोज राईले जानकारी दिएका छन्।





































