आज्ञा खबर
सर्लाही
सर्लाहीको सीमावर्ती क्षेत्र पर्सा गाउँपालिका–५ मा एक व्यक्तिलाई सुँगुरको खोरभित्र थुनेर कुटपिट गरिएको घटनासम्बन्धी प्रहरीले अनुसन्धान अघि बढाएको छ।
स्थानीय तस्लिम अन्सारीलाई सुँगुरको खोरभित्र हालेर कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घटनाले व्यापक ध्यान खिचेको छ। घटनामा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा तस्लिम अन्सारी स्वयं र अर्को पक्षका राजेन्द्र साह सोनार, उनका छोरा कमलेश साह, पप्पुकुमार यादव र राहुलकुमार महतो रहेका छन्। प्रारम्भिक अनुसन्धानमा तस्लिम र राजेन्द्रबीच सुनचाँदीको गरगहना बनाउने विषयमा विवाद भएको खुलेको छ।
सर्लाही प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार दुवै पक्षबाट हातपात तथा कुटपिट भएको पुष्टि भएको छ। उनले बताएअनुसार, राजेन्द्र पक्षका चार जनामाथि अमानवीय व्यवहार तथा धर्मसम्बन्धी कसुरमा, र तस्लिमविरुद्ध अभद्र व्यवहार सम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको छ। सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले जानकारी दिए।
स्रोतका अनुसार विवादपछि गाउँमा पञ्चायती समेत बसेको थियो। तर, सुँगुरको खोरमा थुनेर गरिएको अमानवीय व्यवहारको भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल दुवै पक्षका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
घटना बिहीबार भएको जनाइएको छ।





































