आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित मुख्य बजारको भीडभाडबीच रहेको बिग मार्केटको माथिल्लो तलाबाट बिहान सबेरै ध्यानमग्न आवाजहरू सुनिन्छ। निलगंगा योगशालामा जम्मा भएका महिला र पुरुषहरूका अनुहारमा शान्ति र सन्तुष्टि झल्किएको हुन्छ। उनीहरू विभिन्न योगासन र श्वासप्रश्वासका अभ्यासमा लीन छन्। प्रशिक्षण दिइरहेकी हुन्छिन् सुमित्रा भट्टराई — जो केवल एक कुशल योग प्रशिक्षिका मात्र होइनन्, समाजसेवामा समर्पित एक प्रेरणादायी महिला पनि हुन्।
४८ वर्षीया भट्टराईले करिब सात बर्षदेखि योग अभ्यास गर्दै आएकी छिन्। सुरुआतमा आफ्नै स्वास्थ्य र मानसिक शान्तिको खोजीमा योग सुरु गरेकी उनले आज सयौं मानिसलाई योग सिकाउने मात्र होइन, समाजको सेवामा पनि त्यसै मार्फत लागेकी छिन्। उनी भन्छिन्, “शरीर स्वस्थ भयो भने मन पनि स्वस्थ हुन्छ, र जब मन स्वस्थ हुन्छ तब मानिसलाई सेवा गर्ने प्रेरणा आउँछ।“ यही सोचले उनी निलगंगा योगशालाको माध्यमबाट समाज रूपान्तरणमा जुटेकी हुँन्।
प्रत्येक बिहान संचालन हुने निलगंगा योगशालामा सहभागीहरूबाट उठेको न्यून मासिक शुल्क सुमित्रा भट्टराई व्यक्तिगत रूपमा नखर्ची समाजसेवामा लगाउँछिन्। उनको यो कार्यले योगशालालाई साधारण योग केन्द्रभन्दा बढी, सामाजिक रूपान्तरणको केन्द्र बनाएको छ। “समाजले दिएको ज्ञान समाजकै हितमा फिर्ता गर्नु पर्छ,“उनी भन्छिन्, “मेरो योगशाला केवल स्वास्थ्य सुधारको माध्यम होइन, समाज परिवर्तनको अभियान हो।“
भट्टराईको समाजसेवा बहुआयामिक छ। उनले आर्थिक अभावमा रहेका तीन जना विद्यार्थीलाई जनता बहुमुखी क्याम्पसमा अध्ययन गराइरहेकी छिन्। जसमध्ये एक बिद्यार्थीले शिक्षकसेवा आयोगमा नाम निकालेर जागिर खाने तयारीमा छिन । त्यससँगै, विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री उपलब्ध गराउनु, भवन मर्मत, रंगरोगन र वृक्षारोपणमा समेत सहयोग पु¥याउने कार्य उनले गरेकी छिन्। विशेषगरी अपांगता भएका व्यक्तिहरूका लागि सहायक उपकरण वितरण गर्नु उनको समाजसेवाको महत्वपूर्ण पाटो हो।
गत वर्ष मात्रै उनले बर्दिवास–२ स्थित आधारभूत विद्यालयमा ६० हजार रुपैयाँ बराबरको रंगरोगन तथा वृक्षारोपणमा सहयोग गरेकी थिइन्। यसबाहेक, स्थानीय सामाजिक संस्था ‘हाम्रो माया घर’ को भौतिक संरचना निर्माण, दुर्गा पूजा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा पनि उनले व्यक्तिगत रुपमा आर्थिक सहयोग पु¥याएकी छिन्।
उनको समाजसेवाको समर्पण देखेर धेरै स्थानीय बासिन्दाहरू पनि अब योगशालासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन थालेका छन्। स्थानीय बिपुल काफ्ले भन्छन्,“हामी त केवल योग सिक्न आएका थियौं, तर सुमित्रा दिदीको सोचले हामी समाजसेवामा पनि सक्रिय हुन थालेका छौं।“
सुमित्रा भट्टराईको योग शिक्षण शैली पनि विशेष छ। उनले प्रत्येक शनिवार बिहान ७ वर्षदेखि १६ वर्षसम्मका बालबालिका र किशोर–किशोरीहरूलाई निःशुल्क योग प्रशिक्षण दिन्छिन्। योग अभ्याससँगै उनीहरूलाई नैतिक शिक्षा, अनुशासन, आत्मविश्वास र सामाजिक चेतनासमेत प्रदान गर्छिन। “बाल्यकालमै मनोबल र सामाजिक जिम्मेवारीको भावना विकास भएमा ती बालबालिका भविष्यमा सक्षम नागरिक बन्छन भन्ने भट्टराईको विश्वास छ।
उनले योगलाई केवल शारीरिक व्यायामको रूपमा होइन, समग्र जीवनशैलीको रूपमा बुझाउँने माध्यम हो भन्छिन्, “योग केवल आसन होइन, यो जीवन बाँच्ने तरिका हो।“ त्यसैले उनको कक्षामा शारीरिक, मानसिक र आध्यात्मिक तीनै पक्षमा समान ध्यान दिइन्छ।

सुमित्रा भट्टराईले योगमार्फत आत्मनिर्भरता र समाजप्रतिको उत्तरदायित्वको सन्देश फैलाइरहेकी छिन्। उनको कार्यशैलीले युवापुस्तालाई पनि समाजसेवामा जोड्ने प्रेरणा दिइरहेको छ। उनी भविष्यमा योगशालालाई अझ विस्तार गर्दै समुदायमै पुग्ने शैलीमा लैजाने योजनामा छिन्। “म चाहन्छु, गरीब, वृद्ध, अपांग सबैले योग प्रशिक्षणको लाभ लिन सकून्,“ उनी भन्छिन्, “त्यसैले अब म योगशालालाई अझ पहुँचयोग्य बनाउँदैछु।“
उनको यो सोचले स्पष्ट पार्छ — योग केवल आत्मकल्याणमा सीमित रहनु हुँदैन, यसले समाजमा सकारात्मक रूपान्तरण ल्याउन सक्छ। व्यक्तिगत सीप र ज्ञानलाई समाज सेवामा रूपान्तरण गर्न सकिने उदाहरण हुन् सुमित्रा भट्टराई।
महिला सामाजिक अभियन्ता सुमित्रा भट्टराइले सञ्चालन गरेको निलगंगा योगशाला अब केवल एक योग केन्द्र मात्रै होइन, सामाजिक परिवर्तनको केन्द्र बनिरहेको छ। भट्टराई जस्ता समर्पित व्यक्तिहरूको अगुवाइमा त्यस्तो केन्द्रहरूले समाजमा आशा, प्रेरणा र सेवामुखी भाव फैलाइरहेका छन्।
साच्चिकै, उनको उदाहरणले देखाउँछ — योग केवल आसन होइन, यो परोपकारी भबनाले उत्प्रेरीत समाजिक सेवा पनि हो





































