आज्ञा खबर
धनुषा
मधेशका जिल्लाहरूमा बढ्दो प्राकृतिक तथा मानवीय विपद् न्यूनीकरणका लागि अभ्यासमूलक तालिम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय, बरमझिया सप्तरीमा आयोजित एक हप्ते तालिममा विपद् व्यवस्थापनका विविध पक्षमा व्यवहारिक सीप प्रदान गरिएको हो।
तालिममा आगलागी, कमजोर संरचनाबाट उत्पन्न जोखिम, सडक तथा हवाई दुर्घटना, वातावरणीय विनाश, जलजन्य प्रकोप, डढेलो नियन्त्रण, शव व्यवस्थापन, फायर फाइटिङ, रोप रेस्क्यु, बन्दोबस्ती व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा प्रशिक्षण दिइएको थियो।
सशस्त्र प्रहरीका जवानदेखि सहायक निरीक्षक स्तरसम्मका ४९ जना सहभागी रहेका तालिम समापन समारोहमा मधेश प्रदेश सशस्त्र प्रहरी बल अन्तर्गत छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद् व्यवस्थापनमा यस्तो तालिमको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए।
यस तालिमले विपद् पूर्व तयारी र तत्कालीन प्रतिकार्य क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।