आज्ञा खबर
रौतहट
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ मा सवारी दुर्घटनामा परेका अन्दाजी ३५ वर्षका एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार गएराति करिब १० बजे राजमार्गको किनारमा गम्भीर घाइते अवस्थामा ती युवक फेला परेका थिए। प्रहरीको गस्ती टोलीले तत्काल उद्धार गरी स्थानीय अस्पताल पु¥याए पनि उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।
डिएसपी राईले दुर्घटना कुनै सवारीसाधनबाट लडेर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। तथापि, दुर्घटनामा संलग्न गाडी र घटनाको स्पष्ट विवरण हालसम्म पत्ता लागेको छैन।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको छ। यता, घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त युवकलाई चिनेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्न अनुरोध गरेको छ।





































