आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीस्थित चुरेपाखा सामुदायिक वनमा सडेको अवस्थामा एक अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको छ।
स्थानीय बासिन्दा बाख्रा चराउन जंगल गएका बेला दुर्गन्ध फैलिएपछि शव भेटिएको हो। शव भेटिनासथ उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार शवको अवस्थाले महिलाको करीब एक साता अगाडि नै मृत्यु भएको हुन सक्ने देखिन्छ। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
स्थानीयका अनुसार ती महिला मानसिक सन्तुलन ठीक नभएकी थिइन् र केही समयदेखि देउराली क्षेत्रमा माग्दै हिँड्ने गर्थिन्। उनको परिचय भने अझै खुल्न सकेको छैन।





































