जलेश्वरको प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधिको चरम अभाव, बिरामी उपचार नपाई फर्किन बाध्य

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मधेस प्रदेशको महोत्तरी जिल्लास्थित जलेश्वरको प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधिको अभाव चुलिँदै गएको छ। सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधिहरूमध्ये साधारण सिटामोलसम्म उपलब्ध नहुनु उपचारमा गम्भीर समस्या बन्न थालेको हो।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। विकास साहका अनुसार, औषधिको अभावले अस्पतालमा उपचारका लागि आउने सयौं बिरामीहरू खाली हात फर्किन बाध्य छन्। “दैनिक औसतमा ३०० देखि ४०० जनासम्म बिरामी आउने गरेका छन्। तर, निःशुल्क दिनुपर्ने औषधि अभाव भएपछि हामी आफैं लाचार भएका छौं,” उनले भने।

अस्पतालको आकस्मिक कक्ष, मेडिसिन र अन्य बहिरङ्ग सेवा ९ओपिडी० कक्षहरूमा दैनिक दर्जनौं बिरामीहरू उपचारका लागि आउने गरेका छन्। आकस्मिक कक्षमा बिरामीको चाप बढेसँगै शय्या अभावसमेत देखिएको डा। साहको भनाइ छ। जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा पनि औषधि अभावकै कारण दैनिक १०० जनाभन्दा बढी बिरामीहरू उचित उपचारबाट वञ्चित हुने गरेका छन्।

गर्मीको तीव्रतासँगै रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको अस्पतालले जनाएको छ। साथै, चर्को घामका कारण छालासम्बन्धी रोगहरूको संक्रमण पनि व्यापक रूपमा देखिन थालेको छ।

औषधिको आपूर्ति समस्याबारे स्वास्थ्य निर्देशनालय, विभाग तथा संघीय सरकारलाई जानकारी गराइसकिएको अस्पताल प्रशासनले जनाएको छ। तर, हालसम्म ठोस समाधान नआएको भन्दै डा। साहले चिन्ता व्यक्त गरे। हाल आकस्मिक कक्षका लागि चाहिने अत्यावश्यक औषधिहरू अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको छ, तर यो अवस्था दीर्घकालीन रूपमा धान्न सकिने छैन भन्ने स्पष्ट संकेत दिइएको छ।

महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका रहेका छन्, जहाँको प्रमुख स्वास्थ्य केन्द्र यही अस्पताल हो। यस्तो अवस्थामा शीघ्र औषधि आपूर्ति व्यवस्था नगर्ने हो भने, जनस्वास्थ्यमा गम्भीर असर पर्ने प्रस्ट देखिएको छ।