मधेशमा गम्भीर बिरामीका लागि आर्थिक सहायता संकटमा, ४० करोड रुपैयाँ अभाव

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेश सरकारद्वारा गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रदान गरिँदै आएको आर्थिक सहायता अहिले बजेट अभावका कारण प्रभावित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजारभन्दा बढी बिरामीले सहायता पर्खिरहेका छन्, तर वितरणका लागि आवश्यक ५० करोड रुपैयाँमध्ये अझै ४० करोड रुपैयाँ अपुग छ।

गत आर्थिक वर्ष २०८०÷८१ देखि लागू गरिएको यो योजनाअन्तर्गत क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघात, अर्थराइटिस लगायत १३ गम्भीर रोगका बिरामीलाई जनही १ लाख रुपैयाँ सहयोग गरिँदै आएको छ।

स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरका अनुसार, चालु आर्थिक वर्षका लागि जम्मा १० करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो, जुन हालसम्मको वितरणमा सकिएको छ। उनले बताए, “बाँकी बिरामीलाई सहयोग गर्न कम्तीमा ५० करोड रुपैयाँ आवश्यक छ, तर अझै ४० करोडको अभाव छ।”

गत वर्ष पनि बजेट अभावका कारण ५१७ बिरामीको भुक्तानी रोकिएको थियो। अहिले त्यो बाँकी रकमसहित ९ सय बिरामीलाई मात्र सहयोग उपलब्ध गराइएको छ। बाँकी बिरामीहरू अझै प्रतीक्षामा छन्।

मन्त्रालयले करिब दुई महिना अघि नै अर्थ मन्त्रालयसँग ३८ करोड रुपैयाँ माग गर्दै निवेदन पेस गरेको भए पनि हालसम्म बजेट उपलब्ध नभएकाले सहायता वितरण ठप्प भएको ठाकुरले बताए।

उनका अनुसार मधेश प्रदेशका आठै जिल्लामा दैनिक ५० जना जति गम्भीर प्रकृतिका बिरामी थपिने गरेका छन्। आर्थिक सहायता पाउनका लागि हाल दैनिक २०–२५ जना बिरामीले निवेदन दिइरहेका छन्।