आज्ञा खबर
जनकपुरधाम
जनकपुरधामको वडा नं. २५ — लोहना हेल्थ पोस्टमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा क्यान्सर वा प्रारम्भिक क्यान्सर अवस्थासँग सम्बन्धित लक्षण देखिएका १२ जना बिरामी पहिचान भएका छन्। बिनयतारा फाउन्डेसनद्वारा आयोजित शिविरमा बिनयतारा क्यान्सर ट्रस्टको व्यवस्थापन र इन्गेज नेपालको सहकार्यमा कुल २४४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
बिनयतारा फाउन्डेसन क्यान्सर अस्पतालकी प्रशासन प्रमुख गमला लुइँटेलका अनुसार सम्भावित क्यान्सर लक्षण देखिएकाहरूलाई थप परीक्षण र उपचारका लागि उच्चस्तरीय स्वास्थ्य केन्द्रमा रिफर गरिएको छ।
शिविरमा स्तन, पाठेघर, गर्भाशय, र मुखको क्यान्सरको प्रारम्भिक पहिचानलाई प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको थियो। नेपाली चिकित्सकहरूसँगै अमेरिकाबाट आएका प्रतिष्ठित क्यान्सर विशेषज्ञ डा. सियायिङ झु र डा. मार्क पेग्रामले पनि क्लिनिकल स्तन परीक्षणमा सक्रिय सहभागिता जनाएका थिए।
एक महिलामा दाहिने स्तनको माथिल्लो भागमा गाँठो भेटिएपछि अल्ट्रासाउन्ड र म्यामोग्राफीको सिफारिस गरिएको छ। शिविरमा सहभागी सबै महिलालाई स्तन आत्म–परीक्षणको महत्व र विधिबारे जानकारी दिइएको थियो।
त्यसैगरी, स्त्रीरोग विशेषज्ञ डा. प्रिशिता शाहको नेतृत्वमा भीआईए (ख्ष्कगब िक्ष्लकउभअतष्यल धष्तज ब्अभतष्अ ब्अष्म) विधिबाट पाठेघरको जाँच गरिएको थियो। असामान्य नतिजा देखिएकाहरूलाई प्याप स्मेयर परीक्षणका लागि बिनयतारा क्यान्सर सेन्टरमा रिफर गरिएको लुइँटेलले जानकारी दिइन्। साथै, एचपीभी (ज्गmबल एबउष्िियmबखष्चगक) र सुरक्षित यौन स्वास्थ्यबारे पनि सहभागीहरूलाई सचेतना दिइएको थियो।
संभावित क्यान्सर लक्षणहरूमा स्तन गाँठो, पाठेघरको सुन्निनु, योनी स्राव, तल्लो पेट तथा ढाड दुख्ने, अस्पष्ट गर्भाशय सम्बन्धी लक्षणहरू तथा उमेरअनुसार देखिने जोखिमहरू रहेका छन्।
शिविरमा सहभागीमध्ये ३६ प्रतिशतले सुर्तीजन्य पदार्थ, गुटखा र मदिराको नियमित सेवन गर्ने बताएका थिए भने ४७ प्रतिशतमा कुपोषण तथा भिटामिन÷आइरनको कमी देखिएको थियो।
शिविरमा डा. विनय शाह (मेडिकल ओन्कोलोजिस्ट), डा. विश्वनाथ मिश्रा, डा. प्रिशिता शाह, डा. बब्लु कुमार यादव, डा. नइमउद्दिन रायन, डा. सुरज यादव, नर्स पुनम चौधरी, सिमिता यादव, रुचिका श्रेष्ठ, प्रयोगशाला प्राविधिक आशा कुमारी यादव र फर्मासिस्ट पिंकी कुमारी साह लगायतको सक्रिय सहभागिता रहेको थियो।