आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–८ स्थित उखु खेतमा मृत अवस्थामा भेटिएका २६ वर्षीय अरविन्दकुमार पण्डित कुम्हारको मृत्यु हत्या भएको भन्दै परिवारले अनुसन्धानको माग गरेका छन्।
चन्द्रनगर गाउँपालिका–१, किसनपुर निवासी अरविन्द गत मंगलबार बिहान पौने ८ बजे उखु खेतमा शव भेटिएका थिए। सुरुमा शवको पहिचान हुन नसके पनि बुधबार बिहान मृतकका दाजु अशोक पण्डित कुम्हारले शवको सनाखत गरेका हुन्। उनी वैशाख २४ गतेदेखि सम्पर्कविहीन थिए।
अरविन्दको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमका लागि लगिएको थियो। शवको अवस्था हेर्दा मृत्यु तीन–चार दिनअघि भएको अनुमान प्रहरीले गरेको छ। पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहे पनि मृतक परिवारले यो हत्या भएको स्पष्ट संकेत गरेका छन्।
प्रेम सम्बन्ध र धम्कीको शृङ्खला
परिवारका अनुसार अरविन्दको ईश्वरपुर–७, चिरान टोलकी विवाहित महिलासँग प्रेम सम्बन्ध थियो। ती महिला तीन सन्तानकी आमा हुन्। एक महिना अघि उनीहरू भारतको नयाँ दिल्ली भागेका थिए, तर दुवै पक्षका परिवारले खोजी गरी आ–आफ्नो घर ल्याएका थिए।
अरविन्दका पिता उपेन्द्र पण्डित कुम्हारका अनुसार, त्यसपछि ती महिलाका परिवारबाट बारम्बार धम्की आइरहेका थिए। अरविन्द बेपत्ता हुनुभन्दा केही दिन अघिदेखि नै महिलाका आफन्तले गालीगलौज र धम्की दिने कार्य गरिरहेको परिवारले जनाएको छ।
“वैशाख २४ गते पनि ती महिलाका आफन्तले घरमा आएर छोरालाई धम्क्याएका थिए,” पिता उपेन्द्रले बताए, “त्यसपछि नै छोरा बेपत्ता भएका थिए।”
शवमा देखिएका चोटपटक
दाजु अशोकका अनुसार, अरविन्दको शवमा टाउको, आँखातर्फ, अनुहार र गुप्तांगमा गम्भीर चोट देखिएको थियो। “दुवै आँखा निस्केको, मुख विकृत भएको र गोप्य अंगमा गहिरो चोट थियो,” उनले बताए।
अनुसन्धानको माग
मृतक परिवारले हत्या आरोपमा संलग्न हुनसक्ने व्यक्तिहरूको नाम इलाका प्रहरी कार्यालय केशरगञ्जमा बुझाइसकेको जनाएको छ। काजकिरिया सकिएपछि औपचारिक उजुरी दिने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले, परिवारले किटानी गरेका व्यक्तिमाथि प्रहरीले सोधपुछ गरिरहेको र घटनाको गम्भीर अनुसन्धान भइरहेको जानकारी दिए। “पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारण स्पष्ट हुनेछ,” उनले बताए।
प्रहरीले परिवारको जाहेरीको पर्खाइ नगरी अनुसन्धान अगाडि बढाइएको उल्लेख गर्दै, संलग्न हुनसक्ने व्यक्तिहरूमाथि निगरानी राखिएको जानकारी दिएको छ।





































