आज्ञा खबर
वीरगञ्ज
वीरगञ्जको सांस्कृतिक र ऐतिहासिक चिनारी मानिने घण्टाघरको एक भाग भत्किएको तीन महिना बितिसक्दा पनि मर्मतकार्य अझै अधुरै छ। फागुन ७ गते बाल्कोनी भत्किएपछि त्यसलाई घुम्टोले छोपेर राखिएको छ, जसले यहाँ आउने पर्यटकलाई निराश बनाइरहेको छ।
महानगरवासीहरू घण्टाघरको शीघ्र पुनःनिर्माणको माग गरिरहेका छन्। स्थानीयहरूका अनुसार, घण्टाघर वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण हो, तर अहिले संरचना बिग्रिएको देख्दा यहाँको पहिचानमै आँच आएको महसुस भइरहेको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले पुरानो संरचना भएकाले मर्मतमा समय लागेको जनाए। ‘व्यवसायीलाई दबाब दिइरहेका छौँ, चाँडै काम सकिन्छ,’ उनले भने।
पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले बाल्कोनीमा वर्षा र घामको असरले क्षति पु¥याएको जानकारी दिए। ‘अकासे पानीको उचित निकास नहुँदा क्र्याक परेको रहेछ, इँटा खस्ने स्थितिसमेत आएको छ,’ उनले स्पष्ट पारे। अहिले छानाको भाग खोलेर मर्मत कार्य अघि बढाइएको छ।
मर्मतका लागि लागत अनुमान (इष्टिमेट) तयार पार्न र संरचनागत समस्या पहिचान गर्न समय लागेको इञ्जिनियर झाको भनाइ छ। स्काफोल्डिङ जडान र उच्च ट्राफिकको बीचमा घण्टाघर चारैतर्फबाट छोपेर काम भइरहेको छ।
रु २० लाखको लागतमा मर्मत भइरहेको घण्टाघरको निर्माण कार्य २०८२ असार १० गतेसम्म सक्ने लक्ष्य महानगरपालिकाले लिएको छ।
सन् १९७९ फेब्रुअरी ८ मा जापानको योनागो सहरका विद्यार्थीको सहयोगमा बनेको घण्टाघर अहिले वीरगञ्जको गौरवको प्रतीक हो। चैत २७ गते नेपालका लागि जापानी राजदूत माएदा तोरुले वीरगञ्ज भ्रमणका क्रममा घण्टाघरको अवस्थाप्रति चासो व्यक्त गरेका थिए।
