आज्ञा खबर
कलैया
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रादेशिक अस्पताल कलैयामा नव निर्मित रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै अस्पतालको रूपान्तरण र योगदानको उच्च प्रशंसा गरेका छन्। उनले यो केन्द्र मधेश प्रदेशमा स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै उपराष्ट्रपतिले मधेश आन्दोलनको कठिन समय सम्झँदै प्रादेशिक अस्पताल कलैयाले खेलेको भूमिकाको चर्चा गरे। “०६२÷०६३ को आन्दोलनका बेला दक्ष चिकित्सकको अभाव थियो। धेरै घाइतेको रगतले अस्पतालको आँगन रञ्जित भयो। यहींबाट दुई शहीदले अन्तिम सास लिएका थिए,“ उनले भावुक हुँदै स्मरण गरे।
यादवले पछिल्लो समयमा अस्पतालले उल्लेखनीय प्रगति गरेको भन्दै आकस्मिक उपचार, गर्भवती र दुर्घटनामा परेका बिरामीका लागि आवश्यक रगत अब वीरगञ्ज जानु नपर्ने अवस्थामा कलैयामा उपलब्ध हुने बताए। वीरगञ्जमा रहेको एक मात्र रक्तसञ्चार केन्द्रको भार केही हदसम्म कम हुने विश्वाससमेत व्यक्त गरे।
“रगतको अभावमा कोही पनि ज्यान गुमाउन नपरोस्,“ उपराष्ट्रपतिले भने, “सङ्घसंस्थाले देखाएको मानवता प्रति हामी कृतज्ञ छौं।“
उपराष्ट्रपतिले जलवायु परिवर्तन, वायु प्रदूषण र दूषित खानेपानीको चुनौतीले मधेश क्षेत्रमा स्वास्थ्यमा असर गरिरहेको उल्लेख गर्दै वातावरणीय स्वास्थ्यप्रति स्थानीय सरकार, नागरिक समाज र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे। वृक्षारोपण, खानेपानी सुधार र फोहर व्यवस्थापनमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
दैनिक २४ घण्टा सेवा दिने केन्द्र
प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले नयाँ रक्तसञ्चार केन्द्रबाट २४ घण्टा सेवा दिइने जानकारी गराउँदै केन्द्रमा दक्ष जनशक्ति परिचालन गरिने बताए। “आफ्नो कार्यकालमा व्यवस्थित आईसीयू, डायलसिस सेवा र अब रक्तसञ्चार केन्द्र स्थापना गर्न पाउनु गौरवको कुरा हो,” उनले भने।
नव निर्मित केन्द्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको हो। आठ कोठे सुविधा सम्पन्न संरचना, आधुनिक शौचालय सहितको यो केन्द्रको निर्माणमा १ करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैयाँ ३२ पैसाको लागत लागेको छ। कुल लागतको २० प्रतिशत अस्पतालले व्यहोरेको छ भने बाँकी छाया नेपालले व्यहोरेको हो।





































