पाँच करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा बाराका हुलाक अधिकारीसहित पाँचजनामाथि भ्रष्टाचार मुद्दा

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बारास्थित जिल्ला हुलाक कार्यालयमा कार्यरत र हाल कार्यालय प्रमुख रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मीसमेत पाँच जना पूर्वकर्मचारीमाथि सरकारी कोषबाट पाँच करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

उनिहरु बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दायर गरिएको आरोपपत्रमा उल्लेख छ ।
आरोपीहरूले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलित बचत रकम कुनै आधिकारिक अभिलेखबिना दुरुपयोग गरेका थिए। कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। अनुसन्धानबाट खुलेअनुसार, उनले उक्त अवधिभर संकलित रकम नगदी रजिस्टरमा नदेखाई लेजर बुक र पासबुकमा मात्र विवरण राखी मनोमानी रूपमा खर्च गरेका थिए।

आयोगको अनुसन्धान अनुसार कुर्मीले तत्कालीन कार्यालय प्रमुखहरू तथा अन्य कर्मचारीहरूसँग मिलेर रकमको आपसी बाँडफाँड गरेका थिए। सोही क्रममा बचतकर्ताबाट संकलित रकमको साँवा र ब्याजसहित कुल पाँच करोड ३५ लाख ६६ हजार २७९ रुपैयाँ ३३ पैसाको अपचलन भएको देखिएको छ।

मुद्दामा कुर्मीसँगै तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहमाथि पनि संलग्नताको आरोप लगाइएको छ। उनीहरूले आवश्यक लेखाजोखा नगरी, नगदी रजिस्टर तथा केन्द्रीय कार्यालयमा विवरण नपठाई अपचलनमा संलग्न रहेको बताइएको छ।

विशेष अदालतमा दायर आरोपपत्रमा सबै आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐनअनुसार बिगो कायम गरी सोही बराबर कैद र जरिवानाको माग गरिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...