मुख्यमन्त्री सिंहको विद्यालय अनुगमन : नक्कली नामाङ्कन र शिक्षाको गिरावटप्रति गम्भीर चिन्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेशमा सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरबारे उठेका गुनासोहरूलाई गम्भीरतापूर्वक लिँदै मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन्। मंगलबार धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको निरीक्षण गर्दै उनले शिक्षामा देखिएका बेथिति र अनियमितता उजागर गरे।

हँसपुर–२ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडाको निरीक्षणका क्रममा सिंहले केही विद्यार्थी निजी विद्यालयमा पढिरहेको भए पनि तिनको नाम सरकारी विद्यालयमा देखाइ छात्रवृत्ति र खाजा सुविधा लिइएको तथ्य सार्वजनिक गरे। यसरी नक्कली नामाङ्कन गरिनुले सरकारी स्रोतको दुरुपयोग भईरहेको उनले औंल्याए।

मुख्यमन्त्री सिंहका अनुसार यस्तो प्रवृत्तिले शिक्षाको गुणस्तर मात्र होइन, सरकारी नीति र बजेटमा समेत नकारात्मक असर पारिरहेको छ। “पहिले विद्यालयमा भवन थिएन तर शिक्षण स्तर राम्रो थियो, अहिले ठूला भवन छन्, तर गुणस्तरमा गिरावट आएको छ,“ सिंहले भने।

सिंहले निरीक्षणका क्रममा शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय पालिका अधिकारी र अभिभावकहरूसँग छलफलसमेत गरे। उनले गुणस्तरीय शिक्षाका लागि सबै पक्षले आ–आफ्नो जिम्मेवारी इमान्दारीका साथ वहन गर्नुपर्नेमा जोड दिए।

“शिक्षकले तयारीसहित कक्षा संचालन गर्नु आवश्यक छ भने विद्यार्थीलाई नियमित गृहकार्य दिनु अनिवार्य छ,” उनले स्पष्ट पारे।

हँसपुर–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको निरीक्षण गर्दै उनले आधारभूत संरचनाको अभाव, विशेषगरी शौचालय नहुनु अत्यन्त दुःखद भएको बताए। यस सम्बन्धमा नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डलले शौचालय निर्माणका लागि रकम निकासा भइसकेको र चालु आर्थिक वर्षमै निर्माण सम्पन्न हुने जानकारी दिइन्।

शिक्षाविद् गुरु सुवेदीले सरकारी सुविधाका लागि नक्कली विद्यार्थी विवरण राख्नु सरासर भ्रष्टाचार भएको टिप्पणी गरे। उनले यस्ता कार्यमा संलग्न शिक्षक तथा कर्मचारीलाई कानुनी कारबाही गर्न माग गरे।

मुख्यमन्त्री सिंहले यस्ता गम्भीर अनियमितता रोक्न प्रदेश शिक्षा निर्देशकलाई सम्बन्धित निकायसँग पत्राचार गर्न निर्देशन दिएका छन्। उनले चेतावनी दिँदै भने, “सुधार नभए अनुदान कटौती गर्नुपर्ने बाध्यता आउन सक्छ।”

प्रदेश सरकारले एक महिनाअघि नै सबै १३६ पालिकामा शिक्षा प्रणाली सुधारका लागि सल्लाह पठाइसकेको छ। सिंह यसअघि अस्पताल र होटलहरूको पनि अनुगमन गरिसकेका छन्। अबको उनको प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउनु रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...