पुख्यौली पेशा फर्निचर, सञ्चारकर्मी तथा गायक राधाकृष्ण शर्माको पहिचान

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–८ निवासी सञ्चारकर्मी तथा गायक राधाकृष्ण शर्मा अहिले सञ्चार र गायनको दुनियाँमा परिचित नाम बन्न सफल भएका छन्। तर धेरैलाई थाहा नहुन सक्छ, उनको पुर्खादेखि चलिआएको परम्परागत पेसा — फर्निचर व्यवसायमा उनि सक्रिय छन्। र त्यो पेशासँग उनको आत्मीयता जोडिएको छ ।

पुख्र्यौली सीपको थालनी

राधाकृष्ण शर्माको परिवारमा फर्निचर व्यवसायको इतिहास झन्डै ७० वर्ष पुरानो छ। उनका हजुरबुबाबाट सुरु भएको यो पेसालाई उनका बुबा हुँदै अहिले उनि र उनका परिवारका अन्य सदस्यहरूले निरन्तरता दिइरहेका छन्। परम्परागत शैलीमा हातैले बनाइने कुर्सी, मेच, दराज, ओछ्यानदेखि लिएर भान्सामा प्रयोग हुने विभिन्न सामग्रीहरू बनाउने काम शर्मा र उनको परिवारले गर्दै आएका छन।

शर्मा भन्छन्, “ब्यक्तित्व निर्माणको पहिलो पाठशाला मेरो बुबाको कार्यशाला थियो। मैले सानो उमेरमै हथौडा, आरी, रन्दा चलाउन सिकेको थिएँ।” उनी सम्झन्छन्, “ती साना–साना काठका टुक्राबाट ठूलो फर्निचर बन्छ भन्ने कुरा मलाई सधैं प्रेरणादायी लाग्थ्यो।”

फर्निचर पेसाबाट सञ्चार क्षेत्रमा

राधाकृष्णले फर्निचर पेशाबाट जीवनको मुल्यमान्यता, धैर्यता, र परिश्रमको पाठ सिके। यिनै गुणहरूले उनलाई सञ्चार क्षेत्रमा अघि बढ्न मद्दत पु¥यायो। यद्यपि, उनी आफैं भने फर्निचर पेशालाई कहिल्यै ‘त्याग्ने कल्पना गर्दैनन्। बरु, सञ्चारमार्फत समाजमा स्वर दिइरहँदा, फर्निचर पेशाबाट प्राप्त मूल्य र अनुशासनले उनको कामलाई अझ प्रभावकारी बनाएको उनी बताउँछन्।

उनले पत्रकारिताको सुरुवात स्थानीय एफएम रेडियोबाट गरे। सामाजिक मुद्दाहरू, श्रमिक अधिकार, परम्परागत पेशाको संरक्षण र युवापुस्ताको संलग्नता जस्ता विषयहरूमा आवाज उठाउँदै जाँदा, उनले आफूभित्रको पत्रकारको आत्मा फुलाउँदै लगे। “फर्निचर बनाउँदा जस्तो नापजाँच, मिलान, सन्तुलन, अनि अन्ततः एउटा उत्कृष्ट उत्पादन दिने सोच — यही सोच पत्रकारितामा पनि मैले अपनाएको छु,”शर्मा भन्छन्।

फर्निचर पेशाको बदलिँदो रूप

समयसँगै परम्परागत पेसाहरू प्रविधिमा आधारित हुँदै गएका छन्। शर्मा र उनको परिवारले पनि फर्निचर उत्पादनमा आधुनिक मेसिनको प्रयोग गर्न थालेको छ। तर उनीहरू अझै पनि केही सामग्रीहरू परम्परागत शैलीमै बनाउने गर्छन्, जसले मौलिकता र हस्तकला जोगाउन मद्दत गर्छ।

उनको भनाइमा, “हामीले बजार प्रतिस्पर्धा सामना गर्न प्रविधिको सहारा लिनु परे पनि परम्परागत सीप र हस्तकलाको मूल्य कहिल्यै घट्दैन।” उनी चाहन्छन्, युवाहरूले आफ्ना पुख्र्यौली पेशालाई ‘पछाडि फर्किने काम’ हैन, ‘पहिचान र गर्व’को रूपमा बुझून्।

गायन क्षेत्रमा समेत सक्रिय

सञ्चारकर्मी,फर्निचर कालिगढ तथा ब्यवसायीे शर्माले गायन क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका छन्। गायन क्षेत्रमा समेत हाल सक्रिय देखिएका शर्माले हालसम्म दुई दर्जनभन्दा बढी गीत रेकर्ड गरी बजारमा ल्याइसकेका छन्। उनका अधिकांश गीतहरू युट्युब लगायतका सामाजिक सञ्जालमा पनि उपलब्ध छन्।

मैथली। भोजपुरी नेपाली मनोरञ्जनात्मक र सामाजिक सन्देशमुखी तथा धार्मिक शर्माका गीतहरूको सिर्जनामा मन छुने शब्द, सरल संगीत र गहकिला भावनाहरू समेटिएका छन्। उनका गीतहरूले दर्शक तथा श्रोताको मन जित्न सफल भएको पाइन्छ। सञ्चारकर्म र फर्निचर ब्यवसाय सँगै संगीत मेरो रुचिको क्षेत्र हो। मानिसको भावना अभिव्यक्त गर्ने अर्को माध्यम पनि संगीत हो भन्ने महसुस गरेर यसतर्फ लागेँ,“ शर्मा भन्छन्।

उनले प्रस्तुत गरेका गीतहरूमा विभिन्न चर्चित गायिकाहरुको साथ रहेको पाइन्छ । सञ्चार , संगीत र फर्निचर ब्यवसाय तथा कालिगढको रुपमा सक्रिय शर्मा अब बहुआयामिक प्रतिभाका उदाहरण समेत हुँन ।

युवापुस्ताप्रति सन्देश

राधाकृष्ण शर्मा आफैं पत्रकार तथा गायक भएर देशका धेरै युवाका आवाज बनेका छन्। तर उनी युवा पुस्तालाई केवल आधुनिकता पछ्याएर मात्रै होइन, आफ्नो जरा पनि नबिर्सिन आग्रह गर्छन्। उनका अनुसार, जरा बलियो छ भने रूख आँधी–तूफानमा पनि उभिइरहन्छ।
“मेरो पत्रकारिता र गायन दुबै फर्निचर पेशाबाटै प्रेरित छ,”उनी भन्छन्, “त्यहाँ मैले कति गहिराइले सुन्ने, बुझ्ने र सम्हाल्ने सीप सिके आज त्यो नै मलाई समाचार लेख्दा, अन्तरवार्ता लिँदा, विचार निर्माण गर्दा र गीत गाउँदा उपयोगी भइरहेको छ।”
उनको दृष्टिकोणमा, युवाहरूले यदि आफ्नो परिवारको पुख्र्यौली पेशा, चाहे त्यो कृषि, काष्ठकला, धातुकला वा अन्य होस त्यसलाई आधुनिक सोच र प्रविधिसँग जोडेर अगाडि बढाए, भने देशकै अर्थतन्त्र बलियो हुन्छ।

स्थानीय अर्थतन्त्रमा योगदान

बर्दिवासको फर्निचर बजारमा शर्माको परिवारको नाम प्रतिष्ठित रूपमा लिइन्छ। उनीहरूको उत्पादन नजिकैका गाउँदेखि शहरसम्म निर्यात हुन्छ। स्थानीय युवालाई तालिम दिई रोजगारको अवसर पनि सृजना गर्ने सोच बनाउदै आएको शर्माको परिवारले युवालाई सीप सिकाएर आत्मनिर्भर बनाउन चाहन्छन्।
शर्मा भन्छन“म सञ्चारकर्मी तथा गायक भए पनि,हामीले हाम्रो उद्योगमा स्थानीय युवालाई प्रशिक्षित गरेर आर्थिक स्वावलम्बनतर्फ उन्मुख बनाउन चाहिरहेका छौं। यसले मलाई थप आत्म संतुष्टि मिल्ने छ ।

राधाकृष्ण शर्मा जस्ता व्यक्तिहरू समाजमा उदाहरणीय हुन् — जसले पत्रकारिता र गीत संगीतको संसारसँगै काठको गन्ध मिसिएको आफ्नो पहिचान पनि जोगाइरहेका छन्। उनले सञ्चार,गायन र परम्परागत पेशाबीच समन्वय गरेर देखाएका छन् कि जुनसुकै पेसा होस्, त्यसमा इमानदारिता, परिश्रम र आत्मीयता मिसियो भने त्यसले समाजलाई केही न केही दिनेछ।

पुख्यौली पेशालाई आधुनिक नजरले हेर्ने, त्यसलाई संरक्षण गर्ने र सम्मानपूर्वक अगाडि बढाउने शर्माको सोचले आजको पुस्तालाई पनि नयाँ ढंगले सोच्न बाध्य पार्छ। आखिर, जरा बलियो भएन भने रूख फुल्दैन — यो भनाईलाई उनले आफ्नै जीवनमार्फत पुष्टि गरिरहेका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...