कटहरिया नगरपालिका : विवाहको छ महिनामै युवतीको शंकास्पद मृत्यु, दाइजोको कारण हत्या भएको माइती पक्षको आरोप

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको छ महिनामै एक युवतीको शंकास्पद मृत्यु भएको छ। मृतकका माइती पक्षले दाइजोका कारण हत्या गरिएको आरोप लगाउँदै घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।

कटहरिया नगरपालिका–५ स्थित बजार क्षेत्रमा बसोबास गर्दै आएका अरमान राय भाटकी २१ वर्षीया पत्नी सानिया प्रविनको शव आइतबार दिउँसो आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो। साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा भेटिएको शवको मुचुल्का तयार गरी प्रहरीको टोलीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो।

मृतक सानियाकी आमा कायमा खातुनका अनुसार छोरीको विवाह झन्डै ६ महिनाअघि बिहार (भारत) स्थित पूर्वी चम्पारण जिल्लाको सुगौली घर भएका अरमान राय भाटसँग मुस्लिम परम्परा अनुसार बिवाह सम्पन्न भएको थियो। विवाहपछिदेखि नै ज्वाइँ तथा उनका परिवारबाट दाइजोको माग गर्दै सानियामाथि शारीरिक र मानसिक यातना दिइँदै आएको खातुनले आरोप लगाएकी छन्।

“दाइजो नपाएको निहुँमा मेरी छोरीमाथि अत्याचार भयो,“ खातुनले भनिन्, “छोरीले अत्याचार सहन नसकी आत्महत्या गर्नु परेको भन्ने देखाइए पनि यो योजनाबद्ध हत्या हो।“

घटनाबारे मृतक सानियाको माइती पक्षले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरिसकेका छन। डीएसपी राजन कार्कीका अनुसार घटना शंकास्पद रहेको र हाल अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। “अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाइनेछ,“ उनले जानकारी दिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...