मुख्यमन्त्री सिंहको चेतावनी “शिक्षा सुधार नभए मधेशको भविष्य संकटमा पर्न सक्छ“

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशमा शिक्षाको स्तर दिनप्रतिदिन खस्कँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबार मलङ्गवामा यातायात व्यवस्था कार्यालयको नयाँ भवन निर्माणको भूमिपूजाका अवसरमा मुख्यमन्त्री सिंहले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता अपरिहार्य भइसकेको बताए।

“२० वर्षअगाडिसम्म मधेशका शिक्षकहरू पहाडका कुना–कन्दरामा पुगेर विज्ञान, गणित पढाउँथे, स्वास्थ्य सेवा पु¥याउँथे,“ उनले भने, “तर आज परिस्थिति फेरिएको छ। देशका १० जना अशक्षम युवामध्ये सात जना मधेशकै छन् भन्ने तथ्य डर लाग्दो छ।“

मुख्यमन्त्री सिंहले अबको प्रमुख जिम्मेवारी शिक्षा क्षेत्रमा आमूल सुधार गर्नु भएको उल्लेख गर्दै विद्यालयहरूको अनुगमन कार्य चाँडै सुरु गर्ने घोषणा गरे। उनले विद्यालय अनुगमनमा स्थानीय पालिका प्रमुख, उपप्रमुख, शिक्षा शाखाका प्रतिनिधिहरूलाई समेत संलग्न गरिने जानकारी दिए।

“अस्पतालजस्तै विद्यालय पनि नियमित निगरानीमा राखिन्छ,” उनले भने, “बालबालिकामा गुणस्तरीय शिक्षा नभए अन्य विकासले दीर्घकालीन प्रभाव पार्दैन।”

मुख्यमन्त्री सिंहले स्थानीय सरकारसँग समन्वय गरी शिक्षा सुधारको अभियानमा गम्भीर भएर लाग्न आह्वान गरे। उनले मापदण्ड नपुगेका अस्पतालहरू फेरि सञ्चालनमा आएको गुनासोसमेत उल्लेख गर्दै यस्ता अस्पतालमाथि कारवाही गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिइसकेको जानकारी पनि दिए।

त्यसै अवसरमा मलङ्गवाको रामकविर मठले दिएको जग्गामा यातायात व्यवस्था कार्यालयको भवन निर्माण सुरु भएको छ। भूमिपूजामा मुख्यमन्त्री सिंहसँगै श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले पनि सहभागी भई निर्माण कार्यको शुभारम्भ गरे।

कार्यालय प्रमुख शशीप्रसाद यादवका अनुसार चालु वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ र आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएसँगै भवन निर्माण कार्य अघि बढाइनेछ। हाल यो कार्यालय जिल्ला समन्वय समितिको भवनबाट अस्थायी रूपमा सञ्चालनमा रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...