गोलबजारस्थित बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु,चिकित्सकसहित तीनजना नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिराहाको गोलबजारमा रहेको बर्धमान अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि चर्किएको विवादले अस्पताल सञ्चालकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिर्चैया नगरपालिका–११, सीतापुर निवासी ३० वर्षीया रामकाशी यादवको शुक्रबार शल्यक्रियामार्फत सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण निधन भएको परिवारको भनाइ छ। मृतकका श्रीमान् सन्त यादवका अनुसार, “बिरामीको अवस्था गम्भीर हुँदै जाँदा पनि अस्पतालले समयमै उपयुक्त निर्णय लिन सकेन। हामीले पटक–पटक अन्यत्र रिफर गर्न अनुरोध गर्दा समेत ढिला गरियो।” उनका अनुसार यादवलाई विराटनगर पठाइँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले शव राजमार्गमा राखेर प्रदर्शन गरेपछि प्रहरीले अस्पताल सञ्चालक डा.तेजशंकर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएर मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले मृतकको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...