निकेश खनाल
बर्दिवास
सिलाइ मेसिनको घुम्तीले मात्र कपडा होइन, बर्दिवास नगरपालिका–२ की सरिता परियारको जीवन पनि बिस्तारै सिलाईरहेको छ। पछिल्लो एक दशकदेखि टेलरिङ व्यवसायमार्फत उनले आफ्नो मात्र होइन, सम्पूर्ण परिवारको जीविकोपार्जन धानेकी छन्। संघर्ष, लगनशीलता र आत्मविश्वासको नाम बनेकी सरिताको कथा अहिले गाउँघरका महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
२०६२ सालमा आफ्नै परिबारका दाजुहरूसँग सिलाइ–कटाइको काम सिकेकी सरिता अहिलेसम्म अविवाहित छिन्। जीवनमा अनेक चुनौतीहरू आए पनि उनले आत्मनिर्भर बन्ने संकल्पलाई कहिल्यै छोडिनन्। सुरुवाती दिनहरू सजिला थिएनन्। आर्थिक अवस्था कमजोर भएकाले उनले अर्काको टेलरमा काम गर्न थालिन्। त्यहीँ काम गरेर जम्मा पारेको पैसाले उनले चारवटा सिलाइ मेसिन खरिद गरिन्, जुन अहिले उनको व्यवसायको मेरुदण्ड बनेको छ।
बर्दिवास–१४ स्थित पुरानो हाट बजारमा सानो कोठामा सुरु भएको उनको टेलरिङ यात्रा अहिले विस्तार भएको छ। दक्षता, ग्राहकसँगको व्यवहार र इमान्दारीको कारणले ग्राहकहरूको मन जित्न सफल भएकी सरिता अहिले तीन जना सहयोगीसहित आफ्नै टेलर सञ्चालन गरिरहेकी छिन्। बिहानदेखि साँझसम्म अविरल मेहेनत गर्ने उनी व्यवसायी मात्र होइनन्, सामाजिक सन्देश बोकेकी एक प्रेरणादायी महिला पनि हुन्।
“महिला भएर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु,” उनी भन्छिन्, “शुरुमा धेरैले उपहास गर्थे, तर अहिले ती नै मान्छेहरूले नै मेरो हौसला बढाइरहेका छन्।” समयले उनलाई धेरै कुरा सिकाएको छ। पुरुषप्रधान समाजमा एक महिलाले व्यवसाय सञ्चालन गर्नु सजिलो छैन, तर सरिताले समाजका अनेक भेदभावहरूलाई चुनौती दिँदै आफूलाई सक्षम प्रमाणित गरेकी छिन्।
हाल उनी आफ्नो सानो पसलबाट राम्रो आम्दानी गरिरहेकी छन्। संयुक्त परिवारको सबै खर्च, बालबालिकाको पढाइ र अन्य जिम्मेवारीहरू उनी आफैंले सम्हालिरहेकी छिन्। घरको ढोका मात्र होइन, उनी अब गाउँघरका महिलाहरूका लागि आत्मनिर्भरता र स्वाभिमानको ढोका बनेकी छिन्।
उनको भविष्य योजना अझ उत्साहजनक छ। टेलरिङ सीपलाई थप बिस्तारगर्ने लक्ष्यसहित उनी अब महिलाहरूलाई व्यवसायिक तालिम दिने सोचमा छिन्। “मैले भोगेका चुनौतीहरू अरू महिलाले नभोगुन् भन्ने चाहन्छु,“उनी भन्छिन्। उनले विश्वास गर्छिन् कि सीप र आत्मबल भए कुनै पनि महिला आर्थिक रूपमा सबल र आत्मनिर्भर बन्न सक्छन्।
सरिता परियारको यात्रा सस्तो सिंगारको प्रचार होइन, बरु धैर्यता, समर्पण र मेहनतको उदाहरण हो। गाउँघरको परिवेशमा रहेर पनि आफ्नै खुट्टामा उभिन सकिन्छ भन्ने उनको संघर्षको कथा अहिले हजारौं महिलाहरूको लागि आशाको ज्योति बनेको छ। साँचिकै भन्ने हो भने, सरिताको सिलाइ मेसिनले कपडासँगै धेरैको जीवन पनि सिलाईरहेको छ।
