आज्ञा खबर
जनकपुरधाम
मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले भारतमा हालै भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गर्दै आतंकवादविरुद्धको लडाइँ सबै राष्ट्रहरूको साझा जिम्मेवारी भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले भने, “जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणले २६ निर्दोषको ज्यान लिएको छ, जसमा एक नेपाली नागरिक पनि परेका छन्। ती मृतकहरू केवल आँकडा होइनन्, उनीहरू कसैका बाबु, आमा, दाजु, छोरी वा साथी थिए। उनीहरूसँगै धेरै सपना पनि मरे।“
मुख्यमन्त्री सिंहले आतंकवादलाई मौन समर्थन गर्नु मानवताविरुद्धको अपराध सरह हुने भन्दै त्यसको खुला प्रतिकार आवश्यक रहेको धारणा राखे। “आतंकविरुद्ध लड्नु केवल अधिकार होइन, कर्तव्य हो। भारतले आफ्ना नागरिकको सुरक्षाका लागि जुन साहसी कदम चालेको छ, त्यसको समर्थन गर्नुपर्छ,” उनले लेखे।
उनका अनुसार मधेश प्रदेश र त्यहाँका जनता सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिँदै आएका छन्। उनले भने, “मधेशले विगतमा अनेक पीडा र संघर्ष भोगेको छ, त्यसैले पीडितहरूको पीडा बुझ्ने संवेदना यहाँको माटोमै छ। भारतको पक्षमा उभिनु आतंकविरुद्ध मानवताको पक्षमा उभिनु हो।”
मुख्यमन्त्री सिंहले आतंकवाद कुनै एक राष्ट्रको मात्र समस्या नभई सम्पूर्ण विश्वको साझा चुनौती भएको उल्लेख गर्दै सबै राष्ट्रहरू एकजुट भएर त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिएका छन्।





































