धनुषामा अनलाइन ठगी गर्दै आएका सात जना पक्राउ, दुई करोड बढी ठगीको आरोप

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषा प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहका सात जनालाई पक्राउ गरेको छ। फेक एकाउन्ट बनाएर सस्तो मूल्यमा मोबाइल र मोटरसाइकल उपलब्ध गराउने झुटो प्रलोभन देखाउँदै उनीहरूले स्थानीयलाई ठगी गर्दै आएका थिए।

प्रहरीका अनुसार उनीहरूले हालसम्म करिब २ करोड ६३ लाख ९ हजार ३१२ रुपैयाँ ठगी गरिसकेको खुलेको छ। अनुसन्धानका क्रममा उनीहरूका साथबाट १० वटा मोबाइल सेट बरामद गरिएको छ, जसबाट विभिन्न बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटमार्फत १ सय ८७ वटा खाता खोलिएको पाइएको छ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ वर्षीय सुधीर कुमार महतो र १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र २० वर्षीय रामकुमार महरा रहेका छन्।

प्रहरी अनुसन्धानका अनुसार उनीहरूले अग्रिम भुक्तानी लिएर पछि सम्पर्कविहीन हुने गरेका थिए। हालसम्म उनीहरूको २१ वटा नक्कली फेसबुक एकाउन्ट र पेज फेला परेको छ।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...