आज्ञा खबर
सर्लाही
सर्लाही जिल्लाको बलरा नगरपालिका नजिकैको सीमावर्ती क्षेत्रबाट एक भारतीय नागरिक नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका छन्।
भारतको बिहार राज्यअन्तर्गत पर्ने सितामढी जिल्लाको मधुकरपुर ग्राम नम्बर ९ का ३४ वर्षीय विश्वनाथ साह नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट एक हजार दरका आठ थान नक्कली नोट (जम्मा आठ हजार रुपैयाँ) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।
भारतबाट नेपाल प्रवेश गरिरहेको बीआर ३० ए ई ८३६३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा बलरा नगरपालिका–२, जमुनियास्थित प्रहरी चौकी छन्कीटोलाबाट साह पक्राउ परेका हुन्।
साहलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा साह नक्कली नोट उत्पादन तथा वितरणमा संलग्न गिरोहसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको डिएसपी राईले बताए।





































