आज्ञा खबर
बर्दिवास,
महोत्तरीको बर्दिवास नगरपालिका–२ का किसान दिपक भुजेलले परम्परागत खेतीबाट हात झिकेर व्यावसायिक च्याउ खेतीतर्फ मोडिएपछि उल्लेखनीय सफलता हात पारेका छन्। केही वर्ष अघिसम्म उनी धान, मकै र तरकारी खेतीमै सीमित थिए। तर बदलिंदो समय र बजारको मागलाई बुझेर उनले च्याउ खेती सुरु गरे र अहिले त्यो नै उनको प्रमुख आम्दानीको स्रोत बनेको छ।
दिपकले काठमांडौँको गोदाबरीमा ३ सय ५० थैला च्याउ लगाएर २०६४ सालदेखी यो यात्रा सुरु गरेका थिए। सुरुमा नयाँ ठाउँ र बजारको समस्याका कारण चुनौती र केही कठिनाइ भोगे पनि उनको धैर्य र लगनशीलताले व्यवसायलाई बलियो बनाउँदै लग्यो तर बिश्व ब्यापि रुपमै फैलिएको कोरोना महामारीका कारण देशभर गरीएको लकडाउनले दिपकलाई काठमांडौँबाट बिस्थापित हुन बाध्य बनायो । लकडाउन अघि १ सय ५० देखी २ सय रुपैयाँ सम्ममा बिक्रि भईरहेको च्याउले बजार नपाउदा उनले उत्पादन गरेको च्याउको मुल्य २० रुपैयाँ सम्म तल झर्याे जस्का कारण उनको ब्यवसायीक खेतीले घाटामात्रै ब्यहोर्नु परेन भुजेललाई काठमांडौबाट गाउँ फर्कन बाध्य बनायो । भुजेल गाउँ फर्किएपछी २०७७ साल मंसिर ६ गते आफ्नै थलो बर्दिवासमा पुनह च्याउ खेतीको शुरुवात गरेको उनको कथन छ,अहिले उनले मनग्य आम्दानी गरीरहेका छन ।
भुजेलले वार्षिकरुपमा करिब १५ देखी २० हजार थैला च्याउ उत्पादन गरिरहेका छन्,जसबाट बार्षिक ५ देखी ६ लाख रुपैयाँ आम्दानी भईरहेको छ ।
“सुरुवातमा त काम गरेको देखेर गाउँका केही साथीहरू हाँस्थे पनि, तर अहिले त तिनै साथीहरू सल्लाह लिन आउँछन्,”दिपक भन्छन्,“अब मेरो उद्देश्य अरू किसानहरूलाई पनि च्याउ खेतीतर्फ प्रेरित गर्नु हो।”
उनले उत्पादन गरेको च्याउ बर्दिवास, जनकपुर, काठमाण्डौंसम्म पु¥याइन्छ। बजारको राम्रो माग र गुणस्तरीय उत्पादनका कारण दिपकको च्याउले राम्रै मूल्य पाइरहेको छ। उनले हाल बर्दिवासको मौषम अनुकुल कन्याम जातको च्याउ उत्पादनमा जोड दिएका छन्।
दिपक भुजेलको च्याउ फार्म अहिले अन्य किसानका लागि यो ठाउँमा नमुना बनेको छ। उनले बिभिन्न संघ संस्था मार्फत युवाहरुलाई तालिम दिएर समेत च्याउ खेतीमा आकर्षित गरिरहेका छन्। यसैक्रममा बर्दिवास नगरपालिकाले पनि उनको कार्यको उचित मूल्याङ्कन गदै सिचाई तथा खेतीगर्न आवश्यक पर्ने बिउ बिजन र मलखादमा सहयोग गर्ने मेयर प्रह्लाद कुमार क्षेत्रीले जनाए ।
दिपक भन्छन्,कृषिमा आत्मनिर्भर बन्न चाहने युवाहरूलाई च्याउ खेती एक राम्रो विकल्प हो। थोरै लगानीमै सुरु गर्न सकिने यसको बजार पनि राम्रो छ।”यद्यपि, उनी सरकारबाट अझ स्पष्ट नीति र प्रविधिमा पहुँचको आवश्यकता महसुस गर्छन्।
तिब्र इच्छाशक्ति, समर्पण र सहि निर्णयले कृषि क्षेत्रमै पनि आत्मनिर्भर र सफल बन्न सकिन्छ भन्ने दिपकको च्याउ खेती यस ठाउँको युवाबर्गकालागी उदाहरण समेत हो ।
जस्ले केवल आम्दानीको स्रोत मात्रै देखाएको छैन बर्दिवासका युवाहरूलाई उद्यमशील बन्न प्रेरणा पनि दिइरहेको छ।
