एमाले धनुषा अधिवेशनमा विवादः मतदान स्थगित, पाँच घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
जनकपुरधाम
धनुषामा नयाँ नेतृत्व चयनका लागि सुरु भएको नेकपा एमालेको अधिवेशन विवादित बनेको छ। सोमबार उम्मेदवारी दर्तापछि उत्पन्न विवादले मंगलवारका लागि तय गरिएको मतदान प्रक्रिया स्थगित गरिएको छ।

निर्वाचन समितिका अनुसार मंगलवार बिहान १० बजेबाट मतदान सुरु हुने कार्यतालिका तय गरिएको थियो। तर, उम्मेदवारी दर्ता प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै विवाद चर्किएपछि अधिवेशनमा दुई पक्षबीच झडप भयो। स्थिति नियन्त्रण बाहिर गएपछि निर्वाचन समितिले मतदान प्रक्रिया रोक्ने निर्णय गरेको हो।

झडपका क्रममा एक पक्षले अर्काे पक्षमाथि कुर्सी प्रहार गरेपछि ३ प्रहरीसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा एमालेका सत्यनारायण महासेठ र महेश दास पनि परेका छन्। प्रारम्भिक झडप पछि जसपाका केही विद्यार्थी नेताहरू पनि घटनास्थलमा पुगेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।

विवादको मूल जड उम्मेदवारी प्रक्रियामा एकपक्षीयता देखिएको भन्ने आरोप हो। अध्यक्ष पदमा उम्मेदवारी दिएका लक्ष्मी यादवको समूहले निर्वाचन समितिले पक्षपातपूर्ण ढंगले काम गरेको आरोप लगाउँदै न्यायिक छानबिनको मागसहित धर्ना थालेको थियो। प्रतिउत्तरमा अर्को समूहले विरोध गरेपछि झडप सुरु भएको थियो।

धनुषाको नेतृत्व चयनका लागि एमालेभित्र दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ। एकतर्फ रघुवीर महासेठ समर्थित समूहबाट भोला यादव अध्यक्ष पदमा उम्मेदवार छन् भने अर्कोतर्फ उमाशंकर अरगरिया र सञ्जीव झा समर्थित समूहबाट लक्ष्मी यादवले उम्मेदवारी दिएका छन्।

एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले महासेठले निर्वाचन समितिमा प्रभाव पार्न खोज्दा विवाद चर्किएको दाबी गरेका छन्। अर्कातर्फ, लक्ष्मी यादव समूहले उम्मेदवारी प्रक्रियामै नीति विपरीत काम भएको र निर्वाचन समितिले गम्भीर त्रुटिहरू गरेको आरोप लगाएको छ।

सोमबार साँझ दुवै समूहले आ–आफ्ना कार्यकर्ताहरूलाई रात्रीभोजमा बोलाएर शक्ति प्रदर्शन गरेका थिए। लक्ष्मी यादव समूहको सहभागिता कमजोर देखिएपछि आफूहरू पराजित हुने अनुमान गर्दै त्यसले पनि तनाव बढाएको अर्को समूहको बुझाइ छ।

हालको अवस्थामा अधिवेशन कहिले पुनः सुरु हुन्छ भन्नेबारे निर्वाचन समितिले कुनै स्पष्ट समय सार्वजनिक गरेको छैन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...