दुई दिनको बर्षाले बर्दिवासका किसानलाई राहत

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
लामो समयदेखिको खडेरीपछि आएको वर्षाले महोत्तरीको बर्दिवासका किसानको अनुहारमा मुस्कान ल्याएको छ। लगातारको गर्मी र पानी नपरेको कारणले चैते धानको रोपाइँको तयारीमै अड्किएका खेतहरुमा अब जीवनको आशा पलाएको छ। यो वर्षाले केवल खेतका बोटबिरुवामात्र होइन, किसानका मनमा समेत सुकाएको आशालाई पानी दिन सफल भएको छ।

यसैक्रममा बर्दिवास नगरपालिका १२ का किसान धनलाल लामा भन्छन्, यसपाली चैते धान रोप्नेगरी पानी परेको थिएन। मकैको बिउ पनि पानी नपरेकै कारण छर्न सकेको थिएन,तर हिजो र आज परेको पानीले जमिन भिजेको छ, अब काम सुरु हुन्छ भन्ने आशा जागेको छ।”

बर्दिवास नगरपालिका भित्रका धेरैजसो कृषक अझै पनि वर्षामा भर परेर खेती गर्छन्। सिञ्चाइको सुविधा नपुगेका कारण यहँका किसानहरू वर्षाकै प्रतीक्षामा थिए। यसपालिको खडेरीले लौका,फर्सी,घिरौला,करेला,खुर्सानी जस्ता तरकारी र मकैजस्ता बालीहरूमा समेत प्रतिकूल असर पर्न थालेको थियो। तर यो दुई दिनको वर्षाले माटोको चिसोपन कायम राखी बीउ अंकुराउन अनुकूल वातावरण बनाइदिएको छ।

यस्तै बर्दिवास नगरपालिका ९ पशुपतीनगरका तरकारी खेती गर्ने अगुवा किसान महेन्द्र महतोले ले भने,“भान्टा र खुर्सानीका बिरुवाहरू सुक्रिँदै थिए। अब पानी परेको छ, फेरि हरियाली फर्किएको देखिन्छ। यो वर्षा नभएको भए धेरै बिरुवा सुक्थे” धेरै किसानले मल छर्ने समय कुरिरहेका थिए,जसका लागि भिजेको माटो अनिवार्य हुन्छ। अब उनीहरू मल र रोपाइँको काममा जुट्न सक्ने भएका छन्।
हाल बिश्वब्यापी रुपमा भईरहेको जलवायु परिवर्तनको असरले गर्दा वर्षाको समय अनिश्चित बन्न थालेको छ। यस्तो बेलामा समयमै आएको वर्षाले किसानलाई ठूलो राहत मिलेको हो । मौसमविद्हरूका अनुसार यो वर्षा पश्चिमी वायू तथा स्थानिय बायू प्रणालीका कारण आएको हो, र यसले अझ एक,दुई दिनसम्म प्रभाव पार्न सक्छ।
दुई दिनको वर्षाले माटोको चिसोपन कायम गरेकाले कृषि उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। स्थानीय बजारमा तरकारी तथा अन्नको आपूर्ति बढ्ने सम्भावना पनि बढ्नसक्ने देखिएको छ, जसले उपभोक्तालाई समेत राहत दिन सक्ने बिश्वास लिईएको छ ।
हाल भएको वर्षा केवल पानी परेको मात्रै नभई किसानका लागि आशा, राहत र जीवनको पुनरारम्भ बनेको छ । यसैगरी यदि मौसमले साथ दिनेहो भने, यसपालिको बाली राम्रो हुने संकेत प्रारम्भ भइसकेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...