रौतहटको पुनःस्थापना केन्द्रमा एक युवकमाथि अमानवीय कुटपिट

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटको गौर नगरपालिका–४ स्थित राइजिङ नेपाल पुनःस्थापना केन्द्रमा एक युवकमाथि भएको अमानवीय कुटपिटको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको छ।

भिडियो सार्वजनिक भएपछि केन्द्रका सञ्चालक सुरज गुप्तासँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता दीपक कुमार रायले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा उक्त भिडियो ८ महिनाअघि खिचिएको पुष्टि भएको छ।

कुटपिटमा परेका व्यक्ति गौर नगरपालिका–२ का दिनेश कुमार यादव रहेको खुल्न आएको छ। यादव २०८१ साल पुस ४ गते केन्द्रबाट डिस्चार्ज भइसकेको पनि प्रहरीले जनाएको छ।

अनुसन्धानमा कुटपिट गर्ने व्यक्ति सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको खुलेको छ। हाल उनी सो केन्द्रमा कार्यरत नरहेको र जागिर छाडिसकेको जानकारी प्रहरीले दिएको छ।

भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय, रौतहटको टोलीले केन्द्रमा अनुगमन गरेको छ। टोलीको नेतृत्व सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले गरेका थिए ।
अनुगमनको क्रममा हाल केन्द्रमा रहेका आठ जना व्यक्तिसँग सो घटनाबारे बयान लिइएको छ।

तीमध्ये कसैले पनि घटना थाहा नभएको जनाएका छन्, किनभने उनीहरू तीन महिनाभन्दा अगाडि मात्र केन्द्रमा भर्ना भएका थिए।

उक्त केन्द्र २०७३ सालमा पर्सा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई रौतहटमा शाखा स्थापनाको अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो। लागू औषधको लतबाट ग्रसित व्यक्तिहरूलाई पुनःसामाजिकरण गर्न स्थापना गरिएका यस्ता केन्द्रहरूप्रति पछिल्लो समय जनविश्वास घट्दो अवस्थामा देखिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...