आज्ञा खबर
जनकपुरधाम
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्।
मिथिला संस्कृति समाज, नेपालको आयोजनामा आयोजित ’सीता प्राकट्य दिवस समारोह २०८२’ मा बोल्दै मन्त्री पाण्डेले सीता मातालाई आदर्श नारीका रूपमा चित्रण गरिएको उल्लेख गर्दै सबैमा उनको प्रति आदरभाव जागृत हुनुपर्ने बताए।
“सीताप्रति हाम्रो श्रद्धा त्यतिबेला मात्रै सार्थक हुन्छ, जब हामी मिथिलाको संस्कृति र गौरवलाई पुनर्जीवित गर्न सफल हुन्छौं,“ मन्त्री पाण्डेले भने।
उनले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी मार्गको सम्बन्धित खण्डलाई ‘सीता–सिद्धार्थ खण्ड’ का रूपमा विकास गर्न नीति ल्याउने प्रतिबद्धता समेत जनाए। यस खण्डबाट मिथिला र बौद्ध संस्कृतिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य राखिएको छ।
सो अवसरमा कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष ’सीता प्राकट्य दिवस’ मा सीता माताको आदर्श र योगदानबारे विमर्श, विचार–मन्थन तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम आयोजना गर्दै आइएको जानकारी दिए।
