आज्ञा खबर
जनकपुरधाम
नेपाली कांग्रेस मधेस प्रदेशद्वारा पदाधिकारी तथा विभागीय प्रमुखहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार जनकपुरधाममा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति कृष्ण यादवले प्रदेशका आठै जिल्लामा रहेका स्थानीय संगठनहरूलाई सक्रिय बनाउँदै पार्टीको संगठनात्मक ढाँचालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीप्रति समर्पित रहन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको हितमा काम गर्न सबैलाई निर्देशन दिए।
सभापति यादवले मधेसमा कांग्रेसलाई पहिलो शक्तिशाली पार्टीको रूपमा स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनले कांग्रेसको मूल दर्शन अँगाल्दै प्रदेशमा विद्यमान अव्यवस्थालाई अन्त्य गर्न सकिने विश्वास व्यक्त गरे।
महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले विभागीय प्रमुखहरूलाई पार्टीको नीति, नियम तथा विधानसम्बन्धी जानकारी गराउँदै नेतृत्वको भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे। उपसभापति वीरेन्द्र प्रसाद सिंहले सबै प्रमुखहरूले विधान अध्ययन गरेर आ–आफ्नो कर्तव्य बुझ्नुपर्नेमा जोड दिए।
कोशी प्रदेश सभापति उद्धव थापाले पदाधिकारी र विभागीय प्रमुखहरूको सक्रियताले मात्र कांग्रेस बलियो हुने उल्लेख गर्दै कार्यक्रमलाई प्रेरणादायी बताइएका थिए।
एक दिने यो अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेश कार्य समिति अन्तर्गतका विभागीय प्रमुख र सचिवहरू सहभागी भएका थिए।





































