आज्ञा खबर
ओखलढुंगा
मापदण्ड विपरीतका औषधि बिक्री बितरणगर्ने ओखलढुंगाका औषधि पसलमा सिल गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ४ मा रहेको पदमा मेडिकल हल र सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा रहेको श्रेष्ठ मेडिकलले सरकारले तोकेको मापदण्ड अनुसार नचलेको भन्दै सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र औषधि व्यवस्था विभाग विराट नगरको संयुक्त अनुगमनको क्रममा उक्त औषधी पसलहरुमा अबैध औषधिहरू बिक्री गरिएको पाइएकाले उक्त औषधी पसलहरु सिल गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ
।यसैक्रममा जिल्लामा रहेका विभिन्न १२ वटा औषधि पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा सिद्धिचरण नगरपालिका ४ मा रहेको पदमा मेडिलहलमा नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने औषधिहरु स्टोरमा राखिएको पाइएकोले सिल गरिएको ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी गोमा देवी ढकाल ( पौड्यल ) ले बताइन् । यसैगरी सिद्धिचरण नगरपालिका १२ मा रहेको श्रेष्ठ मेडिकल हलमा अस्पतालको प्रिस्क्रिप्सन बिना औषधि बिक्री गर्नुका साथै औषधी पसलमा बिना इजाजत पशु औषधि बिक्री गर्ने गरेको पाइएकोले सिल गरिएको उनको भनाई रहेको छ ।





































