किर्ते प्रमाणपत्र पेस गरी मावि शिक्षक बनेका मगर विरुद्ध विशेष अदालतमा मुद्दा दायर

आज्ञा खबर
सिरहा
किर्ताे कागजात पेश गरी भ्रष्टाचार गरेको अभियोगमा सिरहाको एक माध्यमिक विद्यालयका शिक्षक विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

सिरहा जिल्ला महावीर माध्यमिक विद्यालय, चैनपुरमा कार्यरत शिक्षक टिकाबहादुर मगरविरुद्ध किर्ते शेक्षिक अध्यापन अनुमतीपत्र पेश गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगरविरुद्ध आरोपपत्र दायर गरेको हो ।

शिक्षक सेवा आयोगबाट निमावि तहको अध्यापन अनुमति प्राप्त गरेका मगरले उक्त अनुमति पत्रलाई माध्यमिक तहको झुट्टा प्रमाण बनाएर पटक–पटक विद्यालयमा पेस गरेको आयोगले जनाएको छ ।
उनी सोही आधारमा हालसम्म माध्यमिक तहका शिक्षकका रूपमा कार्यरत रहँदै आएका थिए। राष्ट्रसेवक कर्मचारीका रूपमा ओहदा, सेवा, सुविधा र लाभ लिइरहेका उनले झुट्टा प्रमाणपत्र पेस गरी पद प्राप्त गर्नु भ्रष्टाचारजन्य कसुर भएको अख्तियारले ठहर गर्दै उनिविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...