निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास सहित मिथिला क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ ।
परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाईने भएको हो ।
नयाँ वर्षको आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो । यो पर्वमा घरका श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन रहि आएको छ ।
आज वर्षभरि सहकालको कामना गर्दै जिउमा हिलो छ्यापेर नुहाउने गरिन्छ । घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।
नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका जानकार बर्दिवास नगरपालिका वडा नम्बर २ निवासी महेश कुमार झा को भनाई रहेको छ ।
गर्मी मौसमको चनाको सातु, दाल, मुन्गाको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर पकाईएको करी (कढी) तरुवा पकाएर खाने परम्परा छ । यी सबै शाकाहारी र सुपाच्य भोजन मानिन्छन् ।
दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ । जुडशितल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।
जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ ।