आज्ञा खबर
बीरगंज
पर्साको वीरगञ्जमा हनुमान जनमोत्सवको शोभायात्रा निकाल्ने क्रममा दुई समूहबीच भएको झडपले थप विवाद बढेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । शनिबार दिउँसो धार्मिक समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको हो ।
शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो । सोही क्रममा केही पसलहरूमा आगजनी समेत गरिएको थियो । झडपको क्रममा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले पूर्वतर्फ भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१, पश्चिमतर्फ सिर्सिया पुल– वीरगंज महानगरपालिका– २५, उत्तरतर्फ गण्डक चौक– वीरगंज महागरपालिका– १४ र दक्षिणतर्फ शंकराचार्य गेट– वीरगञ्ज महानगरपालिका– १६ मा आज साँझ ६,३० बजेदेखी भोली दिउँसो १२ बजे सम्म कफ्र्यु लगाएको हो ।