आज्ञा खबर
जनकपुर
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिकाको मुख्य बजारमा बाहिरबाट हेर्दा फार्मेसी र भित्र अस्पताल सेवा सञ्चालन गरेको भेटिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार वीरगन्जको एक कार्यक्रमा सहभागी भएर जनकपुर फर्किने क्रममा औषधि पसलको अनुगमन गरेका थिए ।
सोही क्रममा सिंहले मोहम्दी मेडिसिन सेन्टर, सामा फार्मेसी, मिश्रा मेडिकल सेन्टर र सिद्धार्थ मेडिकल हल अनुगमन गरेपछि उनले यस्तो पाएका हुँन । ‘यी चार वटै फार्मेसी बाहिरबाट हेर्दा ‘औषधि पसल र भित्र अस्पताल सेवा रहेको पाइएपछि मुख्यमन्त्रीको निर्देशनमा बन्द गराइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
अनुगमनकै क्रममा मुख्यमन्त्रीले फार्मेसी लगायतका सरोकारवालासित सोधपुछसँगै कागजात हेर्दै जाँदा गैरकानुनी रुपमा मापदण्ड नपुगेका अस्पताल तथा क्लिनिक र औषधि पसल (फार्मेसी) सञ्चालन गरिरहेको भेटेपछी त्यस्ता अस्पताल बन्द गराएका हुँन ।
अनुगमकै क्रममा त्यस्ता फार्मेसीमा एक्सरेदेखि ल्याब, बेड, इमर्जेन्सी उपचार सेवा देखिएकोले बन्द गराइएको ठाकुरको भनाई छ । ठाकुरका अनुसार २ अस्पताल, ३ डेन्टल क्लिनिक र ४ औषधि पसल बन्द गराइएको हो ।
अनुगमनको क्रममा निजगढ ८ सहिद चोकको जीवनदान अस्पताल र निजगढ–९ बकैया टोलमा रहेको निजगढ सिटी हस्पिटललाई बन्द गर्न गराइएको उनले जनाए। ‘दुवै अस्पतालले इजाजत र अन्य आवश्यक प्रक्रिया नै पूरा नगरी सञ्चालन गरेको पाइयो,’अधिकृत ठाकुरले भने ।
त्यसैगरी निजगढ–८ सहिद चोककै नारायणी दन्त सेवा केन्द्र, लायन्स चोकको निजगढ डेन्टल क्लिनिक, निजगढ–७ को कान्ता डेन्टल मेडिकललाई पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए ।
औषधि पसलमा नियमविपरीत बेड राखेर बिरामी भर्ना र उपचार गर्ने गरेको पाइएको समेत ठाकुरले जनाए ।