आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्वपूर्ण विधेयक मंगलवार प्रमाणीकरण गरेकी छन्।
भण्डारीले प्रदेश बालअधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रमाणीकरण गरेको मधेस प्रदेशका प्रमुखको सचिवालयले जनाएको छ।
नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएका यी विधेयक प्रदेश विकासका लागि महत्वपूर्ण मानिएको छ। मधेसमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले मधेस प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि आवश्यक नीति तथा योजना तय गर्नेछ।
त्यसैगरी, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशभर कृषि क्षेत्रमा नवप्रवर्तन, आधुनिकीकरण तथा कृषकको हित संरक्षण गर्ने कानुनी आधार तयार गर्नेछ।
प्रदेश बालअधिकारसम्बन्धी ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयकमा बालअधिकार संरक्षणलाई अझ प्रभावकारी बनाउनका लागि यस ऐनमा संशोधन गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवका अनुसार यी विधेयकको कार्यान्वयनबाट मधेस प्रदेशको सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





































