आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवनमा तेस्रो डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ ।मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र, हामी सबैको पहिचान”भन्ने नारासहित हरिवन नगरपालिका–११, स्थित सुर्ति विकास चौरमाप्रदर्शनी सञ्चालन गरीएको हो ।
प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीको उद्घाटन मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दनसिंह क्षेत्रीले गरेका हुँन ।
उद्घाटनको क्रममा क्षेत्रीले आधुनिक प्रविधि अवलम्वन गरी किसानलाई पशुपालन तथा कृषि पेशातर्फ आकर्षित गर्न प्रदर्शनीले टेवा पुुग्ने बताए । उनले कृषकलाई प्राविधिक सरसल्लाह प्रदान गर्न प्रदेशका आठै जिल्लामा पालिकाहरुसँग समन्वय गरी कृषक सहायता केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै प्रदेशभर नमूनाकोरुपमा निकट भविष्यमै महिला कृषक स्वंसेविका नियुक्त गर्ने तयारी समेत भइरहेको मन्त्री क्षेत्रीले बताएका छन् । पशुपालन तथा कृषि पेशामा आवद्ध रहेका किसानलाई आधूनिक औजार, उपकरणसँग जोडेर उत्पादन बढाउने उद्देश्यले तेस्रो पटक डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना गरिएको हरिवन नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले कृषकलाई कृषि र पशुपालन क्षेत्रमा विकसित भएका आधूनिक औजार, उपकरणबारे जानकारी प्रदान गर्न विभिन्न स्थानबाट व्यवसायी बोलाएर प्रदर्शनीमा स्टल राख्न लगाइएको जानकारी दिएका छन् ।
प्रदर्शनीमा स्थानीय किसानले कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन गरेको वस्तुुको समेत गरी ६० वटा स्टल राखिएको छ । हरिवन नगरपालिकाले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश दुग्ध विकास बोर्ड, इन्दुशङ्कर चिनी उद्योग हरिवनलगायत विभिन्न सङ्घसंस्था तथा निकायबाट सहयोग लिएर प्रदर्शनी आयोजना गरेको हो ।