आज्ञा खबर
जनकपुरधाम
जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको पार्टी एकतालगायतका विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक बोलाईएको छ ।
काठमाण्डौमा आउँदो शुक्रवार बस्ने बैठकमा दुई दलको एकता मुख्य एजेन्डा रहेको प्रवक्ता डा. शरदसिंह यादवले बताए । जनमत र नाउपाको एकता सहमति नजिक पुगेको छ । जनमत र नाउपाका कार्यदलबीच हिजो छलफल भएको थियो ।
कार्यदलको बैठकले पार्टी एकीकरणको मोडालिटीबारे छलफल गरेको प्रवक्ता यादवले जानकारी दिए । दुई दलको एकतापछि दलको नाम नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा. सीके राउत, संरक्षक रेशम चौधरी, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिह्न ढकिया हुने गरी दुई दल सहमति नजिक पुगेका छन् ।
दुवै पार्टीका केन्द्रीय कमिटी र पदाधिकारीको सम्मानजनक सहभागितालाई लिएर कार्यदलमा छलफल भइरहेको छ । एकीकरणपछि बन्ने नयाँ पार्टी तराई–मधेशमा बलियो शक्तिका रूपमा उभिने उनीहरूको विश्वास छ ।
सङ्घीय संसद्मा प्रतिनिधित्वको हिसाबले पनि नयाँ दल मधेश केन्द्रित सबैभन्दा ठूलो दल बन्नेछ । अहिले जनमतका ६ जना र नाउपाका ४ जना सांसद छन् ।





































