आज्ञा खबर
सर्लाही
सर्लाहीको कविलासी नगरपालिका–१०, सलेमपुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका चारजना मध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्लाको नवलपुर–मलङ्गवा सडकअन्तर्गत हिजो दिउँसो सलेमपुरको पिडारी चोकमा मलङ्गवाबाट कविलासीतर्फ जाँदै गरेको बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका थिए । घाइतेमध्ये बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल पछाडि सवार चक्रघट्टा गाउँपालिका–८, औरही बस्ने ५० वर्षीय विनोद राउतको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउको, नाक, चिउडो, दुवै हात र खुट्टामा चोट लागेर घाइते राउतको उपचारका क्रममा आज मध्यान्ह न्यूरो अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए । उपचारका क्रममा मृत्यु भएका राउत सवार मोटरसाइकलका चालक चक्रघट्टा गाउँपालिका–८, औरही कै ४० वर्षीय ओमशङ्कर साह र बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकलका चालक गोडैता नगरपालिका–७, जानकीटोल बस्ने रामसिंहासन राउतको वीरगन्जमा उपचार जारी रहेको डिएसपी राईले बताए ।
रामसिंहासनले चलाएको मोटरसाइकल पछाडि सवार गोडैता नगरपालिका–७, जानकीटोलकै २० वर्षीय गुल्शन महतो प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।