आज्ञा खबर
बर्दिवास
कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । ’राजा स्वयं नै कारक भएर गणतन्त्र आयो,’ उनले भने,‘राजाले सत्ता सम्हालेपछि नेताहरुलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे । ज्यादती गरेपछि गणतन्त्र आयो । गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन् ।’
महोत्तरीको बर्दिबासमा बिहीबार साँझ कार्यकर्ता भेटघाटमा उनले निर्वाचनको समयमा कांग्रेसीले नै कांग्रेसलाई मतदान नगर्ने परम्परा अन्त गर्न निर्देशन दिए । कार्यकर्ताहरुले गठबन्धन गरी नेताहरुको भविष्यसँग खेलबाड गरेको र गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा पार्टी कमजोर भएको जिज्ञासा राख्दा जवाफमा देउवाले आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई मतदान गर्ने अवसर आउने प्रतिबद्धता जनाए ।
’२०८४ को निर्वाचनमा गठबन्धन हुँदैन,’ उनले,‘पार्टीका उम्मेदवारलाई मत नदिइ घात गर्ने परिपाटीको अन्त हुनुपर्छ । टिकट पाएका उम्मेदवारको टिकट खोस्ने घटना दोहरिँदैन । उम्मेदवार जित्ने माहोल कार्यकर्ताले नै बनाउनु पर्छ ।’
देउवासँगको भेटघाटमा नेता कार्यकर्ताहरुले बर्दिबासको अव्यवस्थित जग्गा तथा रेल्वेको मुआब्जालगायत समसामयिक समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
साभार कान्तिपुर अनलाईन