रिंकु सदा हत्या प्रकरण : गृहले सार्वजनिक गर्‍यो छानबिन समितिको अनुसन्धान प्रगति विवरण

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको रिंकु सदा हत्याको विषयमा अनुसन्धान गर्न बनेको छानबिन समितिको अनुसन्धान प्रगति विवरणलाई मधेस सरकारको गृह संचार तथा कानून मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको छ । गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीले एक पत्रकार सम्मेलनको आयोजना गरी सो विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको विवरणमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा पूरक जाहेरी परेको छ ।

यसअघि स्थानीय एक युवक रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएको परिवारले अहिले थप व्यक्तिलाई प्रतिवादी बनाउँदै बलात्कारको कसुरमा अनुसन्धान गर्नुपर्ने माग राखेर पूरक जाहेरी दिइएको हो ।
रिङ्कु सदा मृत्यु प्रकरणमा जबरजस्ती करणीसहित चार मुद्दामा अनुसन्धान भईरहेको छ।

बलात्कार आत्महत्या दुरुत्साहन गरी दुई कसुरमा जाहेरी आएको छ । जसमा यसअघि बलात्कारको आरोप लागेको भनिएका युवकदेखि छलफलमा सहभागीहरूलाई प्रतिवादी बनाइएको छ । अहिलेसम्म ८ जनाविरुद्ध जाहेरी परेको छ । प्रतिवेदन अनुसार रिंकुको बलात्कारपछि हत्या गरिएको थियो ।

रिंकुकुमारी ३० माघ राति ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । त्यो भन्दा अघिका घटनाक्रमले भने उनको मृत्यु शंकास्पद रहेको देखाएको थियो ।

आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकुकुमारी २६ माघ राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर नफर्किएकी उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परेकी थिइन् ।

६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् ।

मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको हो । पञ्चायती बसेको विषय पुष्टि भएको प्रहरीले जनाइसकेको छ ।

बलात्कारको विषय बाहिर आएपछि मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति नै गठन गरिएको थियो ।