बागमती पुलमा डाइभर्सन बनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मतका लागि डाइभर्सन निर्माण कार्य सुरु भएको छ ।

मर्मतको काम गर्दा पुल पूर्णरुपमा बन्द गर्नुपर्ने स्थिति आएपछि पुलदेखि दक्षिणतर्फ डाइभर्सन निर्माण गर्ने काम धमाधम भइरहेको हो । खोलामा बालुवा, गिट्टी बिछ्याउने र पानी भएको ठाउँमा ह्यूम पाइप राख्ने काम भइरहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अरुण कुमार लाल कर्णले बताए ।

केही साताअघि पुलको ‘ब्यारिङ प्याडेस्टल’ मा क्षति पुगेर पुल नै धस्सिएपछि जोखिमपूर्ण अवस्था बनेको छ । ५५ वर्ष पुरानो यो पुल मर्मत नगरिए दुर्घटनाको जोखिम बढेपछि तत्काल मर्मतको काम गर्न लागिएको हो ।

पर्सी बिहीबारसम्ममा डाइभर्सन निर्माणको काम सकेर पुलबाट सवारी आवागमन बन्द गरिने सडक डिभिजन प्रमुख कर्णले बताए । उनका अनुसार पुलमा ‘ब्यारिङ प्याडेस्टल’ मर्मतको काम गरी दबिएको भागलाई उठाउन तीन÷चारदेखि चार दिन लाग्छ ।

पुललाई पहिलेकै भागमा उठाएर उच्च गुणस्एतरमा कङ्क्रिट राखेर ढलान गरेको २४ घण्टापछि पुलबाट साबिककै झैँ सवारी साधन गुडाउन मिल्ने अवस्था सिर्जना हुने छ । जोखिमपूर्ण बनेको बागमती पुलको सडक विभाग अन्तर्गत पुल महाशाखाको टोली समेत आएर निरीक्षण गरी फर्किएको छ ।

महाशाखाको प्राविधिक टोलीसहित सडक डिभिजनको जनशक्ति खटिएर मर्मतको काम गरिने डिभिजन प्रमुख कर्णले बताएका छन् ।

पुल मर्मत हुने समयमा अहिले निर्माण भइरहेको डाइभर्सनबाट प्रत्येक सवारी साधन संचालन हुने व्यवस्था मिलाइने छ । सर्लाही र रौतहत दुवैतर्फका सुरक्षा निकायबीच समन्वय गरी डाइभर्सनबाट सहजरुपमा सवारी साधन सञ्चालन गराइने सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताएका छन्।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...