ज्ञान र शिक्षाको उन्नयनबाट सबै नगरवासीमा जागरणको शक्ति उद्बोधन हुन सकोस : मेयर क्षेत्री

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी धनीदेवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

आजको दिनदेखी सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यो दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

आजकै दिन सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उनको सचिवालय मार्फत सम्पुर्ण नगरवासीलाई शुभकामना दिएका छन ।
क्षेत्रीको सचिवालयले आज निकालेको शुभकामना बक्तब्यमा उनले भनेका छन । विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्व‘श्रीपञ्चमी को अवसरमा नगरभित्र रहनुभएका सम्पूर्ण दिदीबहिनी दाजुभाइ तथा आमा बुवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
उनले सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो भन्दै विद्याले व्यक्तिको सामथ्र्य अभिवृद्धि गर्दै सच्चरित्र दिने कुरा उल्लेख गरे ।
मेयर क्षेत्रीले बक्तब्य मार्फत भने,आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास छ । अतः सरस्वतीपूजालाई अक्षरारम्भ गराउने दिवसका रूपमा समेत लिइन्छ ।
नगरभित्र वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै क्याम्पसस्तरमै शिक्षाको सामयिक सुधारका सवालहरू साझा चासोका विषय हुन पुगेकाले शैक्षिक संस्थाहरूको सुधार, तथा शिक्षकहरूको दरबन्दि मिलान,सीप अभिवृद्धि र वृत्तिविकास र जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले निर्देशित गरेका छौ ।

आज हाम्रा सामु सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्न शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्न र नव परीवर्तनका लागि युवा पुस्तासँग बर्दिवास नगरपालिकाले हातेमालो गर्दै अघि बढ्न हामी प्रयसरत छौ ।
यो प्रयासले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउने छ भन्ने बिश्वास मैले र बर्दिवास नगरपालिकाले लिएको छ।
मेयर क्षेत्रीले भनेका छन,आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिहने पर्व हो । यसको गरिमालाई हामी सबैले आत्मसात गर्नुपर्दछ । सरस्वतीपूजा र वसन्त पञ्चमीको यस अवसरमा ज्ञान र शिक्षाको उन्नयनबाट सबै नगरवासीमा जागरणको शक्ति उद्बोधन हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...