आज्ञा खबर
बर्दिवास
आज माघ १६ गते अर्थात शहीद दिवस । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रम गर्दै देशभर शहीद दिवस मनाइने भएको हो ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । यस्तै गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
सहिद दिवस, २०८१ को अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उनको सचिवालय मार्फत आज एक श्रद्धान्जली बक्तब्य जारी गरेका छन ।
श्रद्धान्जली बक्तब्यमा उनले,भने नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत बर्दिवास नगरपालिका भित्र २०३६ सालको आन्दोलनमा साहदत हुनु भएका कृष्ण बहादुर राना तथा माओबादी जनयुद्धको क्रममा सहदत हुनु भएका ,भगबती स्याङ्गवा, बेचु पौडेल लगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
श्रद्धान्जली संदेशमा मेयर क्षेत्रीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डहरूमा निरङ्कुश र तानाशाही शासन व्यवस्था विरूद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूप्रति सम्झना गर्दै श्रद्धाञ्जलीमा,भने यो दिवसले नगरभित्रका सम्पूर्ण राजनीतिक दल, नगरवासी देशका आम नागरिक र सम्बद्ध सबैलाई स्वाधिनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु।
महान् सहिदहरूको बलिदानद्वारा हामीले आफ्नो संविधान आफैं बनाएका छौं। जनता आफैंले बनाएको संविधानमार्फत हामीले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौं। संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । संविधान र गणतन्त्रले परिलक्ष्य गरेको यही मर्मलाई आत्मसात गर्दै देश तथा नगरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मैले ठानेको छु।
अन्तमा, वीर सहिदहरूले गरेका बलिदानको मैले ब्यक्तिगत तथा बर्दिवास नगरपालिकाले उच्च मूल्याङ्कन गर्दै सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरित गरोस् भन्ने पनि कामना गर्दछु।
सहिदकै सम्झनामा केही पछिल्लो समय यता माघ १० देखि १६ गते सम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
शहीद दिवसको अवसरमा सरकारले देशभर आज सार्वजनिक बिदा दिएको छ ।