आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिकामा नगरभित्रका किशोरीलाई एचपीभी खोप लगाईदै छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध नगरपालिकाभित्र रहेका ४ हजार ६ सय किशोरीलाई एचपीभी खोप लगाईने भएको हो ।
एचपीभी खोप अभियान अन्तरगत मंगलवार लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयको सभा हलमा नगर स्तरीय खोप समन्वयसमिति तथा संचारकर्मी अभिमुखीकरण कार्यक्रम गरीएको नगरपालिकाको कार्यालयले जनाएको छ ।लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मुुमताज मिकरानीका अनुसार नगरको सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय बाहिरका १० देखि १४ वर्षसम्मका किशोरीलाई पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न एचपीभी खोप लगाउने लक्ष्य लिएको छ ।
नगरभित्र यहि माघ २३ गतेदेखि २९ गतेसम्म पहिलो चरणको खोप कार्यक्रम संचालन हुने स्वास्थ्य शाखा संयोजक मिकरानीले बताए । उनले कक्षा ६ देखि १० सम्मका प्रत्येक विद्यालयमै स्वास्थ्यकर्मी पुुगेर छात्राहरुलाई खोप लगाउने समेत जनाए।
एचपीभी खोप अभियान कार्यक्रमको अभिमुखीकरणमा खोपको महत्वबारे जनस्वास्थ्य निरीक्षक राजकुमार सिंह र रोशन चौधरीले सहभागीलाई प्रष्ट पारेका थिए । उनीहरुले ढुुक्क भएर एचपीभी खोप लगाउन आग्रह समेत गरेका छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले एचपीभी खोप अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । अभिमुुखीकरणमा नगरपालिका भित्रका वडाअध्यक्ष, स्वास्थ्य चौकीका इन्चार्ज, नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।