आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आज जिल्लामा मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेको छ।
सर्लाहीको हरिवनबाट सुरु भएको मोटरसाइकल ¥यालीले केही बेरअघि लालबन्दीमा पुगेर जिल्ला वन कार्यालय घेराउ गरेको छ।
बागमतीमा मेयर थापा र उपमेयर लीला मोक्तानलाई सरकारले झुटा वन मुद्दामा फसाउन खोजेको आरोप माओवादीले लगाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन्।
बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो। माओवादीले राजनीतिक प्रतिशोधको आधारमा मेयर थापा र उपमेयर मोक्तानलाई झुटा वन मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएको छ।
यसअघि माओवादीले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।
उसले मोटरसाइकल ¥याली, वन कार्यालयमा विरोध प्रदर्शन, धर्ना, मशाल जुलुस, जनसभा, बन्द र आम हड्तालसम्मका कार्यक्रम घोषणा गरेको छ। साभार नेपाल खबर