आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास १४ का मुसहर जातिले उम्लिरहेको दूधले नुहाएर कुल देवताको पूजा गर्ने तयारी गरीरहेका छन्। मुसहर समुदायको कुल देवता (भुइयाँ) महाराजको पूजाको क्रममा मुसहर भक्तजनहरूले उम्लिरहेको दूधले नुहाएर पुजा गर्ने चलन रहिआएको एकिकृत नमुना मुसहर बस्ती बर्दिवासका स्थानिय तथा जनता मा.बि.बर्दिवास २ का शिक्षक मन्जे सदाले जानकारी दिए ।
५ वर्षको अन्तरालमा हुने मुसहर समुदायको कुल देवता (भुइयाँ)महाराज को पुजाको क्रममा हरेक बर्ष झै यस बर्ष समेत भक्तजनहरूले उम्लिरहेको दूधले नुहाउने कार्यक्रम रहेको छ । भुइँया अर्थात् मैथिली शब्दमा यस्लाई तल भनेर जनाउँछ । तलको अर्थ धर्ती हो । जमिन, माटो वा पृथ्वीलाई भुइँया भन्ने गरिन्छ । भुइँया पूजा प्रकृतिको पुजाको रुपमा पनि लिन सकिने मुसहर धार्मिक अगुवाको भनाइ छ ।
छैठौ शदाब्बदीमा वर्तमान नेपालकै सप्तरी जिल्लामा जन्मिएका दीना–भद्री दाजुभाइको पूजा गर्नु नै भुइँया पूजा हो । दीना–भद्री मुसहर समुदायका कुल देवता तथा अन्याय, अत्याचार र शोषणको विरुद्धको महावीर योद्धको रुपमा चिनिएको इतिहासमा वर्णन गरिएको छ ।
दिना–भद्रीलाई मुसहर समुदायले भुइँया महाराज भनेर समेत सम्बोधन गर्दै आएका छन् । मुसहर कुलमा जन्मेपनि उनीहरुले सम्पूर्ण समाजको हितको लागि काम गरेको इतिहासमा छ ।
श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई कब्जा गरी जवरजस्ती एक रात शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहंलगायत १ सय ५१ जना शोषक, अन्यायी, अच्याचारी, सामन्तीसित लडी जित प्राप्त गरेका थिए दिना–भद्री दाजुभाइ ।
यो पर्वमा कुल देवता दिना–भद्रीलाई स्मरण गर्दै उमलिरहेको तातो दूधले स्नान गरेर भुइयाँ महराजको पूजा गर्नुलाई जनबोलीमा अपटनी दिएको भनिन्छ। भुइयाँ महराजको दैवी शक्तिले गर्दा तातो दूधले नुहाएर पूजा गर्न सकिएको मुसहर धार्मिक अगुवाहरू बताउँछन्।
मुसहरले माघ भरिमा आफ्नो कूल देवता भुइयाँ महराजको पूजा गरीसक्ने चलन छ कसै,कसैले नभ्याएको खण्डमा फागुनमा समेत पुजा गर्छन भन्छन मन्जे । मन्जेका अनुसार हाल बर्दिवास स्थित एकिकृत नमुना मुसर बस्तीमा पुजाको तयारी भईरहेको छ । पुजा गर्नकालागी आवश्यक रकम समेत संकलनगर्न थालिएको छ ।
उनिहरुका जाती सबैले मिलेर पूजको तयारी गर्छन्। उनिहरुले महिना दिन लगाएर भव्य रूपमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ ।





































