आज्ञा खबर
सर्लाही
सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुर क्षेत्रमा एक्कासी जङ्गली हात्ती देखा परेपछि स्थानीय त्रसित बनेका छन् ।
हीरापुरको बाहुनीदेवी सामुदायिक वन र वनदेवी सामुदायिक वनबाट बुधवार राती निस्किएको दुईवटा जङ्गली हात्ती गाउँ पसेर किसानले बारीमा लगाएको गोलभेँडा र गोलभेँडा भरिएको क्यारेटमा समेत क्षति पुर्याएको लालबन्दी ११ का वडाध्यक्ष दीपक कुमार लामाले जानकारी दिए ।
बस्ती तथा नजिकको जङ्गलमा हात्ती देखा परेपछि लालबन्दी ११ को वडा कार्यालयले आज सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन र वन क्षेत्रभित्र प्रवेश नगर्न सचेत गराएको छ । हरिपुर नगरपालिका–१, को जानकीनगर क्षेत्रमा एक सातादेखि जङ्गली हात्तीले बितण्डता मच्चाएको छ । हात्तीले घर भत्काउने र अन्नबाली नष्ट गर्ने समेत गरिरहेको स्थानियहरुको भनाई छ ।
यसैक्रममा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले लालबन्दी १० र ११ का विभिन्न स्थानमा हात्तीको पाइला देखिएकाले स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए ।
दिनभर जङ्गल तथा उखुुबारीभित्र बस्ने हात्तीले साँझ पर्न थालेपछि बस्ती तथा खेतबारीमा निस्किएर क्षति पुर्याउने गरेका छन् । हात्ती देखा परेपछि जङ्गल आसपास बस्ती भएका स्थानीय रातभर निदाउन सकेका छैनन् ।
डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्तीको समूहलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेकाले सतर्कता नै अपनाउनुपर्ने बताउँदै आएको छ ।
डिभिजन वन प्रमुख सन्तोषकुमार झाले केही दिन यहाँ रहने हात्ती पुनः फर्किएर पर्सा राष्ट्रिय निकुञ्जतर्फ नै जाने भएकाले हात्तीलाई जथाभावी नजिस्काउन र सुरक्षित रहने उपाय अपनाउन आग्रह गरेका छन् ।