आज्ञा खबर
लहान
सिरहाको लहानमा मोटरसाईकल दुर्घटना हुँदा एकै परिवारका तीनजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १८ प ८३२५ नम्बरको मोटरसाईकललाई पुर्व पश्चिम राजमार्ग अन्तरगत लहान नगरपालिका–१३ स्थित विपरीत दिशबाट आईरहेको प्र२–०१–००१ प ७९ नम्बरको संकल्प विद्या आश्रमको स्कुल बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा उनकी श्रीमति २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुर्घटनामा परि घाइतेहरूको लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको हो ।
घाइते थापा सिरहाको मिर्चैया नगरपालिकाका स्वस्तिक पाठशाला स्कुलमा लेखापालको रुपमा काम गर्दै आइरहेका छन् । घर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने बसका चालक दिपेश कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको बताईएको छ ।





































