निकेश खनाल
बर्दिवास
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३ सय ३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस शनिवार महोत्तरीको बर्दिवासमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजेश्वर यादबको अध्यक्षता तथा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा मनाईएको कार्यक्रममा समाजमा बिभिन्न बिधामा योगदान पुर्याउँदै सामाजिक रुपमा कामगर्ने ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनिहरुलाई रा.प्र.पा महोत्तरीले सम्मान समेत गरेको रा.प्र.पा महोत्तरीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनिप्रति श्रद्धासुमन अर्पण गरेका छन । उनले तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीकाबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेको जनाए ।
मेयर क्षेत्रीले भने,राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई शाहले अक्षुण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको क्षेत्रीले बताए ।
उनले आफ्नो शासनकालमा ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिएको दिव्यउपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक रहेको समेत मेयर क्षेत्रीले स्मरण गरे ।
मेयर क्षेत्रीले पृथ्बी नारायण शाह बिशुद्ध आधुनिक नेपालको निर्माता भएकाले उनलाई कुनै पनि राजनितिक पार्टीसंग तुलनागर्न नसकिने र नमिल्ने जनाए । उनले
भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएको कुरालाई स्मरण गरे । यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक बचाउ अभियानका केन्द्रिय सचिवालय सदस्य तथा यातायात बिभाग प्रमुख सानु पुर्बछानेले खादा र माला लगाउदैमा पृथ्बी नारायण शाहको सपना पुरा हुँन नसक्ने बताए । उनले पृथ्बी नारायण शाहले जनता मोटाए दरवार सुरक्षित रहन्छ भन्ने दिब्य उपदेशको स्मरण गर्दै जनता अशिले दलालहरुको चपेटामा दुब्लाउदै गईरहेको जनाए ।
उनले देशमा भ्राष्टाचार, अत्याचार मिटरब्याज बैक तथा बितिय संस्थाको ठगी दिन प्रतिदिन बढदै गईरहेको अवस्थामा अहिलेको सरकारले त्यसलाई मलजल गरीरहेको उल्लेख गरे । नेता पुर्बछनेले भने,हामी शिरमा कफन बाँधेर अबस्था बदलिन लागिपरेका छौ मलाई बिश्वास छ एकदिन नेपाली जनताले यो ब्यवस्था अवश्य परीबर्तन गर्नेछ ।
कार्यक्रमका अर्का बक्ता राप्रपा महोत्तरी क्षेत्र नम्बर १ का अध्यक्ष होम प्रसाद पोखरेल (कमलले) राष्ट्रनिर्माताले त्यसबेला दिएका अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै उनले राष्ट्रप्रती देखाएको राष्ट्रबादलाई सबैले पालना गर्न सके देशले ठुलो फड्को मार्ने जनाए ।





































