निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास लगायत मधेसका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ ।
चिसोबाट बच्न न्यानो कपडा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान बर्दिवास अस्पतालका चिकित्सकले सुझाव दिएका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन बर्दिवास अस्पतालका स्वास्थ्य तथा शिक्षा अधिकृत मिन बहादुर सेनको सुझाव छ । “यसका साथै बाथ तथा गेठियाका रोग लागेका बिरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरीर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक रहेको सेनको सुझाब छ ।
सेनले केहीदिन देखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे । “यसैक्रममा अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । बर्दिवास क्षेत्रमा बिहानदेखि बेलुकै सम्म चिसो बढेको छ । यो क्रममा शितलहर चलेको खन्डमा अझै केही दिन थप चिसो बढ्ने अवस्था छ । त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ”, उनले भने।
चिसो बढ्दै गएपछि नगरपालिका संग दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको बर्दिवास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घुरन महतोले जानकारी दिए । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे थप चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको बर्दिवास अस्पतालले जनाएको छ ।





































