निकेश खनाल
बर्दिवास
महोत्तरी जिल्लाको सुदुर उत्तरवर्ती बर्दिवास नगरपालिकामा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई भव्य स्वागत गरिएको छ ।
बर्दिवास स्थित होटल पावन मिथिलामा सोमवार जनकपुरका खेलाडी तथा व्यवस्थापन पक्षलाई संघिय सरकारका श्रम तथा रोजगार मन्त्री सरतशिहं भण्डारी, बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री,रोटरी क्लबअफ बर्दिवासका अध्यक्ष बिष्णुराज पुरीले खादा, माला र अबिर लगाएर भब्य स्वागत गरेको रोटरी क्लबअफ बर्दिवासका पास्ट प्रसिडेन्ट हिरालाल गौतमले जानकारी दिए ।
सम्मानको क्रममा बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले मधेशकै गौरब उच्च राख्न सफल जनकपुरका क्रिकेट खेलाडीहरुले गरेको योगदानको बर्दिवास नगरपालिकाले उच्च मुल्याङ्कन गरेको बताए । उनले बिजेता खेलाडीहरुले मधेश प्रदेशकै गौरब राख्न सफल भएकाले उनिहरुप्रति सम्मान ब्यक्त गर्दै बर्दिवास नगरपालिकाभित्र खेलको बिकास गर्न नगरपालिकाले प्रत्येक बर्ष बजेट बिनियोजन गरिरहेको उल्लेख गरे । नगर प्रमुख क्षेत्रीले नगरपालिका भित्रका उत्कृष्ट तथा जेहन्दार खेलाडीलाई खेलमा ब्यवसायिक बनाउन नगरपालिकाको श्रोत र साधनले भ्याए सम्म न्युनतम पारिश्रमिकको ब्यवस्था मिलाएको जानकारी दिए । नगरक्षेत्र भित्रका खेलाडीलाई हौसला प्रदान गर्दै खेलाडीको बिकाश , स्तरोन्नती र मनोबल उच्च राख्न बिभिन्न खेलको प्रशिक्षकहरुद्वरा समय समयमा प्रशिक्षण समेत चलाईएको उनको भनाई रहेको छ।
यसैक्रममा नेपाली प्रिमियर लिग (एनपिएल) विजेता टिम जनकपुरले मधेश प्रदेशकालागी जनकपुर बोल्ट्सको ट्रफी टुर मधेश प्रदेशको आठ वटै जिल्लामा सञ्चालन गरीने बर्दिवास नगरपालिकाका युवा खेलकुद तथा शिक्षाशाखाका अधिकृत रोमन निरौलाले जानकारी दिए ।
बर्दिवासका स्थानिय क्रिकेट खेलाडी समेत रहेका निरौलाले एनपिएल ट्रफी मधेश प्रदेशबाट प्रतिनिधित्व गरिरहेका जनकपुर बोल्ट्सले जितेपछि यहाँका खेलाडीलाई थप प्रेरणा प्रदान भएको समेत बताए ।